०१ मंसिर, कठमाडाैँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ।
कोप–२९ सम्मेलनको पाँचौ दिन शुक्रबार कोपको अध्यक्षमण्डलले आयोजना गरेको कार्यक्रममा नेपालले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले गरेका असरबारे ध्यानाकर्षण गराएको थियो।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी सहभागी उक्त बैठकमा उनका तर्फबाट वन सचिव डा दीपकुमार खरालले पर्वतीय क्षेत्रको महत्व र हिमालमा जलवायु परिवर्तनले गरेका असर तथा गर्नुपर्ने कामका बारेमा ध्यानाकर्षण गराएका थिए।
सम्मेलनमा छलफलका लागि एजेण्डा तय गर्ने बारेमा कोपको अध्यक्षको समूहले राखेको बैठकमा यसरी हिमालका मुद्दाबारे पहिलोपटक छलफल भएको हो।
यसअघि सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनमा सहभागिताका क्रममा हिमालमा परेको असरले तल्लो तटीय क्षेत्रमा पारेको असरबारे धारणा व्यक्त गरेका थिए। सो विषयलाई समेत शुक्रबार विभिन्न देशहरूले उद्धृत गर्दै आफ्ना धारणा व्यक्त गरेको बैठकमा सहभागी मन्त्री शाहीका जलवायु सल्लाहकार मञ्जित ढकालले जानकारी दिए।
नेपालले यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो। नेपालको उक्त प्रस्तावमा भुटान, तान्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए।कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो।
+ There are no comments
Add yours