२९ कार्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी विनियमावली जारी गरेसँगै बैंकवित्तीय संस्थाहरु मर्जरमा जाने क्रम बढ्दै गएको छ । समस्याग्रस्त तथा कमजोर केही संस्थाहरु एक आपसमा तथा बलियो बैंकसँग गाभिएका छन् ।
नेपाल राष्ट्र बैंकको हालैको तथ्यांक अनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८१ भदौ मसान्तमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८१ असार मसान्तमा ११,५३० रहेकोमा २०८१ भदौ मसान्तमा ११,५३३ भएको छ ।
नेपाल राष्ट्र बैंकले मर्जर नीति ल्याउँदा २ सय १८ वटा रहेका बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिसनको व्यवस्था कार्यन्वयनमा आएपश्चात सबैभन्दा बढी बैंक, विकास बैंक र फाइनान्सहरु मर्जरमा गएका छन् ।
थप घट्दै बैंकहरु
नेपालमा २७ वटा वाणिज्य बैंकबाट मर्जर पश्चात घटेर २० वटामा आएको बैंकहरुको संख्या थप घट्ने भएको छ । हालै मात्र प्राइम बैंक फेरि मर्जरमा जाने तयारीमा रहेको छ ।
यसअघि कैलास विकास बैंकसहितका वित्तीय संस्थालाई प्राप्ति गरेको प्राइम बैंकले फेरि अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जमा जाने तयारीमा रहेको हो । बैंकले आगामी मंसिर १९ गते बोलाएको १७ औं साधारणसभामा मर्जर सम्बन्धी विशेष प्रस्ताव अगाडि सारेको छ ।
यसअघि केही वाणिज्य बैंकसँग मर्जरको प्रारम्भिक छलफल भए पनि ठोस निर्णय भने भइसकेको थिएन । मर्जरका कारण बैंक तथा वित्तीय संस्थाको संख्या घटिरहँदा धेरै बैंक तथा वित्तीय संस्थाले साधारणसभामा मर्जरको प्रस्तार राखेका छैनन् । प्राइमले भने यसपटक राखेको प्रस्तावमा अर्को ठूलो मर्जर हुनसक्ने आँकलन गरिएको छ ।
बैंकले यही मंसिर १९ गते आफ्नो १७औं वार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभाले बैंकलाई अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्नका लागि साधारणसभाले बैंकको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिनेछ । सञ्चालक समितिको ५१५औं बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।
+ There are no comments
Add yours