२९ कात्तिक, पर्वत । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ ।
पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताए ।
देउपुरमा मात्रै तीन सय बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष ५ करोड रुपैयाँको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिए । उनका अनुसार यसवर्ष ५० प्रतिशत बढी बोटमा प्रकोप फैलिइसकेको छ ।
गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज्ञान केन्द्रले अभियानकै रुपमा तालिम र विषादी वितरण गरेको थियो । अर्का किसान लालु चापागार्इंले कीरा लागेर धमाधम सुन्तला नष्ट भएको बताए । पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटबलसम्म बिक्रीका लागि लगिन्छ । यसवर्ष अहिलेसम्म व्यापारी आइपुगेका छैनन् ।
कृषि ज्ञान केन्द्रले देउपुरलगायत विभिन्न स्थानमा औँसा कीराको प्रकोप देखिएको जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले सुन्तलाका पकेट क्षेत्रमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या देखिएको बताए ।
‘मुख्य गरी सुन्तला झर्ने समस्या फलमा आउने औंसा कीराको कारणले हो,’ उनले भने, ‘अघिल्लो वर्ष अभियानकै रूपमा तालिम र विषादी बाँडिएको थियो । अघिल्लो पटक बाँडिएको विषादी सही रूपमा प्रयोग नगर्ने किसानको बगैँचामा समस्या देखिएको छ । समग्रमा अघिल्लो पटक भन्दा यस वर्ष उत्पादन घटेको छ ।’
ग्रिनिङ रोगको समस्या, सुक्ष्म खाद्य तत्वको कमी, उपयुक्त व्यवस्थापनको कमी, अन्य रोग कीराले पनि यो समस्या आउने पौडेलले बताए । पहिले सुन्तला उत्पादन हुने समुद्री सतहदेखि एक हजार तीन सय मिटर उचाइ भन्दा तल उत्पादन हुन छाडेको स्थानीय किसान भूमिराज शर्माले बताए ।
थप क्षति हुन नदिन जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ । झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने प्रक्रियाले कीराको चक्र ‘ब्रेक’ गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको बाली संरक्षण अधिकृत पौडेलले बताए ।
सुन्तला पर्वतमा उत्पादन हुने मुख्य फल हो । गतवर्ष सुन्तला बिक्रीबाटरु २५ करोड जिल्लाका किसानले भित्र्याएका थिए ।
+ There are no comments
Add yours