बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्री’ सेवा शुरू

२३ कार्तिक, काठमाडौँ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण शुरू गरिएको छ ।

यसअघि नमूना बाहिर पठाइँदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण शुरू गरिएको हो ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्त क्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्री सेवा शुरू गरिएको हो । यसका लागि आवश्यक पर्ने उपकरण रु एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा शुरू गरिएको हो ।

उनका अनुसार एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा शुरू गरिएको उनले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाडौं जाने गर्दथ्यो ।

नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उनले जानकारी दिए । बाहिर पठाउँदा रु ३० हजारभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा रु १२ हजार मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ ।

‘छिटो रोग पहिचान गर्न पनि सहज भएको छ,’ उनले भने ।

कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताए । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइँदै छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours