अर्यालले आन्दोलन ‘तुहाएको’ असन्तुष्ट नेताहरूको आरोप
१६ कार्तिक, काठमाडौँ । उपसभापति डोलप्रसाद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेटेको विषयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टि चुलिएको छ। सोमबार साँझ बालुवाटार पुगेर अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीलाई भेटेका थिए।
त्यसअघि अर्यालले गृहमन्त्री लेखकसँग पनि भेटेका थिए।
१५ दिनदेखि सभापति रवि लामिछाने कास्की जिल्लाको प्रहरी हिरासतमा छन्। राजनीतिक प्रतिशोधका लागि उनलाई थुनिएको भन्दै रास्वपाले विरोध गरिरहेको छ।
कात्तिक १० गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापति रहेको आन्दोलन सञ्चालन मूल समिति र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक संवाद समिति बनाएको छ।
अर्याल नेतृत्वको समितिको मुख्य काम नै सरकारलाई दबाब दिन देशका विभिन्न स्थानमा आन्दोलन र प्रदर्शन गर्ने हो।
तर, आन्दोलन प्रभावकारी हुन सकेको छैन।
अन्य राजनीतिक दलसँग संवादको जिम्मेवारी पाएका डा. वाग्लेलाई छलेर अर्यालले प्रधानमन्त्री र गृहमन्त्री भेटेपछि नेताहरू रुष्ट बनेका हुन्।
‘पार्टीले जिम्मेवारी एउटालाई दिएको छ, तर सक्रियता अर्काेको भयो,’ ती पदाधिकारीले भने, ‘आन्दोलनको नेतृत्वको जिम्मेवारी दिएका डोलप्रसादजी प्रधानमन्त्री भेट्ने, गृहमन्त्री भेट्ने र परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न समय मागेर मेसेज गर्ने भनेपछि त आफ्नो काम तुहाएर अर्काेको काममा हस्तक्षेप गर्दै हिँडेको भयो।’
सो पार्टीका अर्का नेताले पनि अर्यालले क्षेत्राधिकार मिचेको बताए।
‘राजनीतिमा क्षेत्राधिकारको कुरा हुन्छ। अर्यालजीले यसपालि त्यो मिच्नुभयो। नत्र किन जिम्मेवारी बाँडफाँट गर्नुपर्यो र?’ ती नेताले प्रश्न गरे।
ती सांसदका अनुसार अहिले सत्तापक्षसँग वार्ता गर्ने पार्टीको नीति नै बनिसकेको छैन।
‘संवादको लागि प्राथमिकता राख्नुपर्ने प्रतिपक्ष दलहरू नै हो। तर, हाम्रा केही साथीहरू सत्तापक्ष भेट्नुहुन्छ। रास्वपामा विधि, पद्धति र पार्टी सञ्चालन प्रणाली विकास भइसकेको छैन,’ उनले थपे।
एक पदाधिकारीले बताए अनुसार सभापति रविले समेत अर्यालको कार्यशैली ठीक नभएको महसुस गर्न थालेका छन्। बिहीबार मात्र उपसभापति अर्यालले रविसँग भेट गरेका छन्।
गृहमन्त्री र प्रधानमन्त्रीलाई भेटेको विषय चर्किने देखिएपछि मंगलबार अपरान्ह ४ बजे रास्वपा सचिवालयको बैठक बसेको थियो। समसामयिक एजेन्डा भनेर बोलाइएको बैठकमा केही नेताले सो विषय उठाएको अर्का नेता बताउँछन्।
जसमा बैठकको निर्णय सबैले पालना गरौँ। कसैको पनि क्षेत्राधिकारलाई मिच्ने काम नगरौँ भन्ने धारणा असन्तुष्ट नेताहरूले राखेका थिए।
अर्याल भने रक्षात्मक रूपमा प्रस्तुत भएका थिए।
‘डोलप्रसादजीले त्यसलाई सौहार्द्रपूर्ण तरिकाले स्वीकार्नुभयो र परिस्थिति यस्तो भएर गएको भन्नुभयो,’ अर्यालको भनाइ उधृत गर्दै ती नेताले भने, ‘उहाँले अब त्यस्तो हुँदैन भन्नुभएको छ।’
सचिवालय बैठकबाट अर्यालले सफाइ पाए पनि पार्टीभित्र भने यो विषय सेलाएको छैन। अर्यालले आन्दोलन लगभग तुहाएको उनीहरूको आरोप छ।
पार्टीका दुई जना उपसभापतिमा समन्वय नभएको मात्र होइन, अर्याल हाबी हुन खोजेको असन्तुष्ट नेताहरू आरोप लगाउन थालिसकेका छन्।
‘माननीय डा. स्वर्णिम वाग्लेलाई दिएको जिम्मेवारीको काम माननीय डोलप्रसाद अर्यालले गर्ने भनेपछि हाम्रा दुईजना उपसभापतिबीचमै समन्वय छैन कि भनेर आशंका गर्ने ठाउँ रह्यो,’ अर्का सांसद भन्छन्, ‘यसबाट स्वर्णिमजी सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्दैन। उहाँले समन्वय गरिराखेको भन्नु त होला तर, व्यवहारमा देखिएन।’
तर रास्वपा प्रमुख सचेतक सन्तोष परियार दुई उपभापतिबीच समन्वय भएरै काम भइरहेको दाबी गर्छन्। रवि पक्राउपछि पार्टीको युवाको पंक्ति आन्दोलनलाई निरन्तता दिनुपर्ने पक्षमा छ।
र्यापिड एक्सन टिम भन्ने विभागका युवाहरूले केन्द्रीय समिति बैठकमै गएर नेताहरूलाई थर्काएको अर्का नेताले बताए।
‘यसरी हुँदैन, तिमीहरूलाई नेता हुनपर्ने? सभापति उहाँ (पोखरा) हुनुहुन्छ, तिमीहरू यहाँ खुरापाती गर्ने?’ बैठकमा असन्तुष्ट युवाले राखेको धारणा एक नेताले उधृत गरे।
नेताहरूले अहिले रास्वाभित्र प्रधानमन्त्रीलाई सार्वजनिक हुनेगरी भेट्न जरुरी थियो कि थिएन, भेटेपनि कुन तह र जिम्मेवारीको नेताले भेट्ने, अर्यालको ठाउँमा अर्काे नेता गएको भए के हुन्थ्यो, परराष्ट्रमन्त्री आरजु देउवालाई भेट्न त्यतिधेरै मरिहत्ते गर्नुपथ्र्याे कि पर्थेनजस्ता प्रश्न उठाएका छन्।
प्रधानमन्त्रीसँग बालुवाटारमा आन्दोलनकै विषयमा वार्ता भएको परियार बताउँछन्।
‘पीएमसँग भूमिगत पार्टीका नेताले त भेट्छन्। सशस्त्र क्रान्तिमै नेताले भेटिरहेका हुन्छन्, संवाद गर्छन्,’ परियारले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको हाम्रो वार्ता आन्दोलनकै विषयमा हो।’
बालुवाटार आन्दोलनको विषयमा केही अफवाह फैलिएपछि प्रष्ट पार्न भेटेको उनको दाबी छ।
‘सुरक्षा स्थिति संवेदनशील छ है भन्ने भएपछि हामी चाहिँ आन्दोलन यो खालको हो, गर्ने यो हो, तपाईंले यसलाई अन्यथा लिनुहुँदैन भनेर कुरा गर्न बालुवाटार गएको हो,’ परियारले थपे, ‘कुरा गरेको केपी ओली, डीपी अर्याल र म बसेर हो। अरु मान्छे कोही छैन। बरु विष्णु रिमाल थिए, उनी पनि भित्र पसेनन्, बाहिरै बसे।’
प्रधानमन्त्रीको आश्वासन : रविमाथि केही भएको रहेछ भने म हेर्छु
कास्की प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेलाई राम्रो व्यवहार नभएको विषय प्रधानमन्त्रीसँग उठाएको परियारले बताए।
‘राजनीतिक प्रतिशोधका रूपमा नलिइयोस्, अनुसन्धानमा हामी सघाउन तयार छौँ भन्यौँ,’ परियारले भने, ‘प्रधानमन्त्रीले व्यक्ति विशेषलाई त्यस्तो हुँदैन, कानुन अनुसारै जान्छ। त्यस्तो केही भएको रहेछ भने म हेर्छु नि भन्नुभयो।’
तिहार लगत्तै आन्दोलनको थप नयाँ कार्यक्रम बन्ने उनको भनाइ छ।
रविको जोड आन्दोलनमा
गल्ती नगरे पनि सरकारले नियोजित रूपमा हिरासतमा राखेको भन्दै सभापति रविले आन्दोलन गर्न नेताहरूलाई भनेका थिए।
‘सभापतिको जोड के थियो भने दबाब दिन आन्दोलनलाई निरन्तरता दिनुपर्छ,’ उनी निकट एक पदाधिकारीले भने, ‘ आन्दोलन निरन्तर गर्दा जनताको आवाज के छ, त्यो पनि ख्याल गरौँ, पब्लिकलाई मन परेको छैन भने गर्नुपर्दैन भन्नुभएको थियो। पार्टीको सक्रियता देखाउनको लागि पनि थोरबहुत दबाबपूर्ण कार्यक्रमलाई निरन्तर राख्नुपर्छ भनेर सभापतिले भन्नुभएको थियो।’
सोही अनुसार आन्दोलनको निर्णय भए पनि उपसभापति अर्यालले आन्दोलन हाँक्न नसकेको असन्तुष्ट नेता आरोप लगाउँछन्।
‘तर, यो आन्दोलन अब लगभग तुहियो भन्दा पनि भयो,’ असन्तुष्ट एक केन्द्रीय सदस्यले भने।
+ There are no comments
Add yours