१६ कार्तिक, काठमाडौँ । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम पटका र पटकाजन्य पदार्थहरुको अवैध प्रयोग ओसारपसार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना पनि गर्ने व्यवस्था छ । पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले नेपालको कानुनले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानुनले सजायको भागेदार बनाउँछ ।”
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले पटकाजन्य पदार्थको अवैधरुपमा हुने ओसारपसार नियन्त्रणका लागि सीमानाका तथा राजमार्गहरुमा चेकजाँच भइरहेको बताउनुभयो ।
प्रवक्ता तिवारीले भन्नुभयो, “सबै जिल्ला प्रशासन कार्यालयहरु, सुरक्षा निकायले सीमा क्षेत्रमा चेकजाँच गर्छन् । राजमार्गमा चेकजाँच गर्दा फेला प¥यो भने बरामद गर्ने र कानुनी कारबाही गर्ने प्रक्रिया सुरु गर्छन् । त्यो अनुसार सबैसँग समन्वय भएको छ, हामीले निर्देशन पनि दिएका छौं । सघन रुपमा अनुगमन गरिरहेका छौं ।”
उहाँले अवैधरुपमा भित्रिरहेको पटका नियन्त्रण गर्नुपर्ने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “दोस्रो कुरा धनजनको क्षति हुन सक्ने सम्भावना पनि छ । दुर्घटनाहरु हुन सक्ने भएकाले सजगता अप्नाउनुपर्नेछ । पटकाजन्य पदार्थ अवैधरुपमा आइरहेको अवस्था छ, त्यसलाई नियन्त्रण गर्नुपर्नेछ ।”
कात्तिक १३ गते मंगलबार मात्रै दीपावलीको पटाका पड्काउँदा दैलेखको आठबिस नगरपालिका–३ साई गाउँका १३ वर्षीय बालक भूपेन्द्र कठायतको ज्यान गएको छ । रकेट बम पटकाको छर्रा दायाँ छातीमा लागेर घाइते भएका कठायतलाई अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका केन्द्रीय प्रवक्ता कार्कीले पटका प्रयोगका कारण बालबालिका घाइते हुने, वृद्धवृद्धाको मुटु हल्लिने, कानमा असर पर्ने लगायतका अवस्था सिर्जना हुने भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रवक्ता कार्कीले भन्नुभयो, “पटकाजन्य पदार्थहरुको अवैध आयात स्रोतमै अर्थात् बोर्डरमै नियन्त्रण गर्ने । ओसारपसार, भण्डारणदेखि वितरणका कुराहरु नियमन गर्ने, नियन्त्रण गर्ने, कानुन विपरीतका क्रियाकलाप गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने भन्ने योजनाभित्र छन् ।”
चाडवाडमा सडकमा चाप बढ्न सक्ने, मनोरञ्जन गर्ने, मापसे, लापसे गर्नेको सङ्ख्या बढेसँगै गुण्डागर्दी लगायत दुर्घटनाको सङ्ख्या पनि बढ्न सक्ने उहाँको भनाइ छ ।
देउँसीभैलो खेल्दा सजगता अप्नाउन आग्रह
प्रवक्ता तिवारीले तिहारमा देउँसीभैलोका सन्दर्भमा सम्बन्धित जिल्लाले स्थानीय परिस्थिती अनुसार समन्वय गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देउँसीभैलो सम्बन्धित जिल्लाले स्थानीय परिस्थिति अनुसार समन्वय गरेर गर्छन् । सम्बन्धित जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारीहरुले स्थानीय स्तरमा त्यसको व्यवस्थापन गर्नुहुन्छ ।”
यसैगरी प्रवक्ता कार्कीले देउँसीभैलो खेल्दा समूह–समूहबिच झगडा हुन सक्ने सम्भावना रहने बताउनुभयो ।
कार्कीले भन्नुभयो, “तिहारमा खास गरेर देउँसीभैलो पनि खेल्ने हुनाले एक समूह र अर्को समूहबिच झगडा पनि हुन सक्छ । मापसे, लापसेको कारणले व्यक्तिहरु झगडा गर्ने, रातिसम्म समाजलाई प्रदूषणमय बनाउने लगायतका क्रियाकलाप हुन सक्छन् । यसको नियन्त्रण समेतका लागि जिल्लो छुट्टै सुरक्षा पनि गर्छ । नेपाल प्रहरी पनि उत्तिकै सक्रिय हुनुपर्छ भनेर त्यही अनुसार निर्देशक भएको छ ।”
+ There are no comments
Add yours