धान उत्पादन घट्यो

१३ कार्तिक, काठमाडाैँ । दाना लाग्ने समयमा धानको बालामा मरुवा रोगले आक्रमण गर्दा उत्पादन खस्कने भएको छ ।

पानी र मौसम अनुकूल भएका कारण प्रतिहेक्टर ४.२ मेट्रिक टन उत्पादन हुने आकलन रहेकामा ३.९ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

कार्यालय प्रमुख झलकनाथ कँडेलका अनुसार जिल्लामा ५० प्रतिशत धान काटिसक्दा उत्पादन खस्किएको पाइएको हो । छिटो धान रोपिने पूर्वी चितवनमा धान भित्र्याउने क्रममा अध्ययन गर्दा यस्तो पाइएको उहाँले जानकारी दिनुभयो ।

पूर्वी चितवनमा धानको उत्पादकत्व अध्ययन गर्ने ‘क्रप कटिङ’ काम सकिएको र भरतपुर तथा माडीमा यसै हप्ता गरिने उहाँले बताउनुभयो । धानको प्रत्येक १० वर्गमिटर क्षेत्रफलमा ‘क्रप कटिङ’ गरी उत्पादन अनुमान गरिन्छ ।

“धानमा लागेको यस्तो रोगका कारण यस वर्ष उत्पादन कम हुने देखिएको छ,” उहाँले भन्नुभयो, “यस्तो रोग गत वर्ष देखिएको थिएन । रोगको लक्षण र असरको विषयमा अध्ययन भइराखेको छ ।” कार्यालयका अनुसार जिल्लामा यस वर्ष २२ हजार ८७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ ।

यहाँ सावित्री, साँवा मन्सुली, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकाबिला, महाराजा, कासिनाथलगायत धान लगाइएको छ । हिउँदे र बर्खे गरी गत वर्ष २६ हजार ३५२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा एक लाख १२ हजार १९० मेट्रिक टन उत्पादन भएको थियो ।

धान हुने स्थानमा घर निर्माण, अन्य खेती, बाटो, विकास निर्माणका कामले गर्दा धान रोप्ने क्षेत्रफल हरेक वर्ष घट्दै गएको छ । पूर्वी चितवनको खैरहनी, राप्ती र रत्ननगर नगरपालिकाको दक्षिण क्षेत्र धानको पकेट क्षेत्र मानिएको छ । पश्चिम चितवनको मेघौली, गुञ्जानगर, माडी, गीतानगर धानको पकेट क्षेत्र हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours