कमजोर बन्यो एनआईसी एशिया बैंक, वितरण गर्नुपर्ने नाफा ऋणमा पुग्यो

१० कार्तिक, काठमाडौं । एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बन्न पुगेको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफा ह्वात्तै घटेको हो । बैंकको खुद नाफा ८९.०६ प्रतिशतले घटेको छ ।

यस अवधिमा बैंकले कुल ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको छ । यसरी हेर्दा बैंकले वितरण गर्नुपर्ने नाफा ऋणमा पुगेको देखिन्छ ।

यस्तै एनआईसी एशियाको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेको छ । बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । गत वर्ष यस्तो आम्दानी २ अर्ब ६४ करोड थियो । त्यस्तै सञ्चालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको छ ।

वितरणयोग्य नाफा ऋणात्मक

बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक रहेको छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ ।

बचतकर्तामा त्रास

बैंकको आम्दानीसँगै अन्य सूचकहरु घटिरहँदा बचतकर्तामा भने त्रास फैलिएको छ । यसअघि पनि बैंक डुब्न लागेको चर्चाले बचतकर्ताहरु आत्तिएर आफ्नो पैसा निकाल्न थालेका थिए । यद्यपी नेपाल राष्ट्र बैंकले बजारको हल्लालाई गलत भनेको थियो । तर कर्जा प्रवाह गर्दा नियम उल्लंघन गरेको विषयमा भने राष्ट्र बैंकले अनुसन्धान गरेको थियो ।

कर्जा प्रवाहमा गरेको उलंघनले राष्ट्र बैंकको अनुसन्धानमा तानिएको एनआईसी एशिया छिट्टै डुब्दैछ भनी ब्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक अभिब्यक्ति दिएपछि सनसनी फैलिएको थियो । राष्ट्र बैंकको इन्सपेक्सन, बैंकका डेपुटी सीईओको राजीनामा, बैंकको शाखा बन्द गर्न दिएको निवेदन र खराब कर्जाका विषयहरू सतहमा आउँदा सर्वसाधारणमा त्रास बढेको थियो ।

किन आत्तिएका छन् निक्षेपकर्ता ?

–घट्दो नाफा ।
– बढ्दो खराब कर्जा ।
–राष्ट्र बैंकको नियम नमान्ने बैंक ।
– राष्ट्र बैंकले कारबाही गर्ने भएपछि बैंकको डेपुटी विगतमा सीईओले नै राजीनामा दिएको ।
– राष्ट्र बैंकमा गलत विवरण पेस गरेको ।
– कर्जा प्रवाह गर्दा नियम उल्लङ्घन गरेको ।

काण्डै काण्डले भरिएको बैंक

धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआईसी एसिया बैंक पर्ने गर्दछ । यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बहिर आएका छन् । केही समय अघि बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेको छ ।

त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासाहरु आउने गरेका छन् । राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो ।

गुमाउँदै छ जनविश्वास

उसो त एनआईसी एसिया बैंकले जनविश्वास गुमाउँदै गएको छ । बैंकले ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला भएपछि धितो लिलामीको नाममा जफत गर्ने गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनु परेको छ ।

किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षागार्ड नै राखेर मानसिक यातना र सामाजिक बेइज्जती गर्ने गरेको छ । बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित भइ सकेको छ । ऋण स्वीकृत गरेको ब्यक्तिको रकम आफैँ निकालेर अपचलन गरेको घटनाले समेत यस बैंकप्रति जनविश्वास घट्दै गएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours