अलैँचीको उत्पादन कम हुँदा आधाले घट्यो निर्यात

१० कात्तिक, काठमाडौँ । देशबाट समग्र वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा समेत कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) एक अर्ब २६ करोड २१ लाख रुपियाँ बराबरको सात लाख ८३ हजार ७५० केजी अलैँची निर्यात भएको छ ।

गत वर्षको सो अवधिमा एक अर्ब ८९ करोड ७६ लाख रुपियाँ बराबरको १५ लाख २५ हजार ९६० केजी निर्यात भएको थियो । गत वर्षको तीन महिनामा चालु आवको तीन महिनामा ६३ करोड रुपियाँ बराबरको अलैँची निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ । अलैँची उत्पादक सङ्घका अध्यक्ष निर्मल भट्टराईले अलैँचीको उत्पादन कम हुँदा निर्यातमा कमी आएको बताउनुभयो ।

जलवायु परिवर्तन, रोग, सिँचाइको कमी, दक्ष प्रावधिको कमीलगायतका अन्य कारणले अलैँचीको उत्पादनमा कमी आएको भट्टराईको भनाइ छ । गत वर्ष समयमा पानी परेन, समयमा पानी नपर्नाले पर्याप्त सिँचाइ भएन र फूल फुल्ने समयमा पानी नहुनाले यस वर्ष धेरै अलैँचीका बोट सुकेकाले उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

विगतका वर्षमा अलैँचीको मूल्य घटेकाले किसानले कम मेहनत गर्दा उत्पादनमा कमी देखिँदा त्यसको असर निर्यातमा परेको उहाँको भनाइ छ । सङ्घका अनुसार १८ हजार हेक्टरमा खेतीमा उत्पादन भइरहेको र वार्षिक पाँच हजार मेट्रिक देखि आठ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । व्यावसायिक ४३ जिल्लामा र खेती विस्तार ५३ जिल्लामा भएको छ ।

एक लाख २५ हजार परिवार अलैँची खेतीमा आश्रित रहेका छन् । सङ्घका अनुसार प्रतिमन (४० केजी) अलैँचीको मूल्य ८८ हजार र प्रतिकेजी अलैँचीको मूल्य दुई हजार दुई सय रुपियाँ पर्छ । व्यवसायीका अनुसार तीन वर्षअघि छ सय रुपियाँ केजी अलैँचीको मूल्य रहेकोमा हाल मूल्य बढेर प्रतिकेजी दुई हजार दुई सय पुगेको छ ।

अलैँचीको मूल्य पर्याप्त मात्रामा पाए पनि उत्पादन कमी हुँदा निर्यात बढ्न नसकेको उहाँको भनाइ छ । विदेशी मुद्रा भित्र्याउने स्वदेश उत्पादनका रूपमा रहेको अलैँची अन्तर्राष्ट्रिय बजारमा उच्च माग भए पनि माग अनुरूप उत्पादन हुन नसक्दा निर्यात बढ्न सकेको छैन ।

विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा सात अर्ब ९४ करोड ९६ लाख रुपियाँ बराबरको आठ लाख ३६ जार ३८९ केजी अलैँची निर्यात भएको थियो । विभागका अनुसार आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको हो । आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ ।

वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु¥याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours