पहिलोपटक काठमाडौंमा गुञ्जिंदै कन्दरा, वर्ल्ड टुरको घोषणा

१० कार्तिक, काठमाडौं । लोकप्रिय लोकपप-रक ब्याण्ड कन्दराले यसवर्ष ३२ औं वर्षगाँठ मनाउँदैछ । यो छेकोमा पोखरेली सांगीतिक समूह ‘पहिले घरदेश, अनि परदेश’ अभियानमा निस्किएको छ ।

३ दशक लामो इतिहास बोकेको ब्याण्ड केही पहिले तालनगरी पोखरामा गुञ्जियो । अब भने २४ कात्तिकमा काठमाडौंमा गुञ्जिने भएको छ । ठमेलस्थित एलओडी क्लबमा प्रशंसकले आफ्नो प्रिय ब्याण्डको मिठास सुन्न पाउनेछन् । ब्याण्ड स्थापनायता काठमाडौंमा गुञ्जिन लागेको यो पहिलो अवसर हो ।

‘३२ वर्षमा पहिलोपटक हामी काठमाडौंमा गुञ्जिँदैछौं । राजधानीको प्रस्तुति अविष्मरणीय बन्ने निश्चित छ’ ब्याण्डका अगुवा तथा भोकलिस्ट विवेक श्रेष्ठले शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने । ब्याण्डले राजधानीमा हुने कन्सर्टलाई ‘काठमाडौं कलिङ’ नाम दिएको छ ।

‘हामी ३२ वर्ष बुढो भैसक्या रहेछौं । यी कुरा हजुरहरुलाई सुनाउन पनि जरुरी छ । नयाँ पुस्तासँग पनि जोडिने मौका हो यो’ उनले भने, ‘ब्याण्डको पुनर्संरचनापछि हामी अब नयाँ लय र तयारीसँग प्रशंसकमाझ आउँदैछौं ।’

९० को दशकको चर्चित ब्याण्डले काठमाडौंपछि चितवन, बुटवल र नेपालगञ्जमा पनि सांगीतिक प्रस्तुति दिँदैछ । जहाँ, दर्शकले ब्याण्डका सदाबहार हिटसँगै नयाँ गीत पनि सुन्न पाउनेछन् । तीन सहरको मिति पनि तय हुन बाँकी रहेको विवेकले बताए ।

ब्याण्ड यतिबेला नयाँ र पुराना सदस्यलाई संगठित गर्दै जुर्मुराएको छ । भोकलमा विवेक स्वयं छन् भने ड्रम्समा सुनिल थापा छन् । थापा स्थापनाकालदेखि ब्याण्डका मेरुदण्ड हुन् । लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापा छन् ।

‘म स्वयम कन्दराको फ्यान हुँ । यो गौरवशाली समूहसँग जोडिएर काम गर्ने अवसर पाउँदा उत्साहित छु’ डेढ दशकदेखि गिटारवादकको रुपमा कार्य गर्दै आएका लामाले पत्रकार धसम्मेलनमा भने ।

नेपाल टूरको आयोजना एमएन प्रोडक्सनले गरेको हो । टूरलाई सफल बनाउन आफूहरु सक्रिय रहेको अध्यक्ष जीत लामाले बताए । नेपाल टूरका लागि ब्याण्डले आर्बिट्युरी, आरएसभीपी र वायर्स म्युजिकसँग मिलेर कार्य गर्दैछ । ‘यी कम्पनीसँगको सहकार्यमा हामी नयाँ पुस्तासँग जोडिने अवसर पनि पाउँछौं’ विवेकले भने । भोटिङ पार्टरनको रुपमा खल्ती रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours