नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई ढकालको आग्रह, लगानी सहजीकरणमा सघाउने

०९ कार्तिक, काठमाडौं। अमेरिकी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आग्रह गरेका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाली र विदेशी बजारलाई हेरेर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

तीन दशक यता देखिएको नेपालको बजार वृद्धि, भारत तथा अन्य विकसित मुलुकले प्रदान गर्दै आएको भन्साररहित पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौता जस्ता कारणहरु देखाउँदै नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको ढकालको तर्क छ ।

साथै उनले नेपालमा उत्पादन गरि अमेरिकाको बजारसंगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावना तर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए । यसैगरि भारतसंग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसंगको समझदारीले जलविद्युतमा उच्च सम्भावना देखिएको जानकारी दिए ।

नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे । संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुइ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावनाको बारेमा चर्चा गर्दै उनले लगानीकर्तालाई लगानी गर्न आग्रह गरे ।

लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई विश्वास दिलाए । महासंघले एफडिआइ हेल्पडेस्क मार्फत सहजीकरण गरिरहेको छ ।

नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको बताए । साथै सरकारले कानुन सुधार र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार पारेको छ ।

हाल ढकाल विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुने क्रममा वासिङ्टनमा छन् । यसअघि उनले अन्तर्राष्ट्रिय वित्त निगमका उच्च अधिकारीहरुसंग पनि भेटघाट गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours