मिथिलाक्षेत्रको सांस्कृतिक महोत्सव विवाहपञ्चमीको तयारीमा जुट्यो मधेस सरकार

०९ कार्तिक, महोत्तरी । मधेसको मिथिलाक्षेत्रको सांस्कृतिक महोत्सव मानिने विवाहपञ्चमीको भव्यताका लागि प्रदेश सरकारले तयारी थालेको छ ।

सप्ताहव्यापी मनाइने रामजानकी विवाह महोत्सवमा गरिनुपर्ने व्यवस्थापकीय कामको सूची तयार गरी सोअनुरुप अघि बढ्न मधेस प्रदेश सरकारले कार्यदल नै बनाएर तयारी थालेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको नेतृत्वमा कार्यदल (समिति) बनाएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।

“रामजानकी विवाह महोत्सव मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव हो, हामीले यसको काम सुव्यवस्थित तवरले अघि बढोस् भनेर शिक्षा तथा संस्कृति मन्त्रीकै अध्यक्षतामा तयारी समिति बनाएका छौँ”, मन्त्री लेखीले भन्नुभयो, “महोत्सव सम्झनायोग्य बनाउन मधेस प्रदेश सरकारले प्रयत्न केन्द्रित गर्नेछ ।” मन्त्री तिवारीको नेतृत्वमा गठित समितिमा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलअलि मिञाँ, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव सदस्य रहनुभएको लेखीले जानकारी दिनुभयो ।

यो समितिले महोत्सवका कार्यक्रमको रुपरेखा तयार गर्नसँगै अयोध्याबाट आउने जन्तीको स्वागत, खानपान तथा बसोबास व्यवस्थापन र आम श्रद्धालु बस्न सक्ने ठाउँको व्यवस्थापनबारे पूर्वयोजना बनाउने छ । त्रेतायुगमा अयोध्याका राजा दशरथका श्रीरामसहितका चार पुत्र र विदेहराज (मिथिला नरेश) शिरध्वज जनक र उहाँका भाइ कुशध्वजका छोरीहरू सीताजीसहित चार दिदीबहिनीको विवाह भएको मङ्सिर शुक्ल पञ्चमी तिथिका अवसरमा विवाहपञ्चमी महोत्सव मनाइने पुरानो मैथिल परम्परा हो । यसपालि यो सांस्कृतिक पर्व आगामी मङ्सिर २१ गते शुक्रबार परेको छ ।

महोत्सवमा विवाहअघि र पछिका विधि मिथिलाका स्थापित परम्परा र प्रचलित कर्मकाण्डीय विधानअनुसार गरिने चलन छ । यसका लागि प्रत्येक दिनका विधिअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिन्छन् । जसमा राम, लक्ष्मण जनकपुर आइपुगेका दिनलाई नगर दर्शन, सीताजीसँग फूलबारीमा आमनेसामने भएको कथा प्रसङ्गलाई फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर (विवाहका लागि यज्ञवेदी बनाउने), स्वयम्वर, विवाह र रामकलेवा (जन्ती बिदाइ)का कार्यक्रम आयोजना गरिन्छन् ।

यो महोत्सवमा जनकपुरधामस्थित राममन्दिरका महन्त र जानकी मन्दिरका महन्थ क्रमशः दुलहा दुलहीका पिताको भूमिकामा हुन्छन् । पूरै महोत्सवभरि सम्धीसम्धीबीच हुने हाँसख्याल ठट्टा र मनोविनोद एवं यससँग जोडिएका सम्पूर्ण विधिले साँच्चै नै रामसीताको विवाहको झल्को दिने गरेको संस्कृतिविद् तथा साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

प्राचीनकालदेखि चल्दै आएको यो परम्परालाई उच्चतम महत्व दिएर मधेस सरकारले एक महिनाभन्दा पहिलेदेखि नै तयारी थाल्नुलाई यहाँका बुद्धिजीवीहरूले सकारात्मकरूपमा लिएका छन् । प्रदेश सरकारले पहिलेदेखि नै तयारीका काम थालेर महोत्सव व्यवस्थित बनाउन पहलकदमी लिनु सकारात्मक भएको महोत्तरीको जलेश्वर–५ पतैलीका बासिन्दा संस्कृतिविद तथा मिथिला माहात्म्यका नेपाली अनुवादक ध्रुव रायको प्रतिक्रिया छ ।

समितिले महोत्सव व्यवस्थित र सुसज्जित बनाउन आवश्यक प्रबन्ध जुटाउनसँगै यससँगै जोडेर सुरक्षा, आवास, भोजन, खानेपानी, विद्युत्, यातायात, स्वास्थोपचार र शौचालयको समुचित प्रबन्धको तयारी गर्ने जनाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours