डेडिकेटेड महसुल प्रमाण जुटाएर मात्रै असुली हुन्छ : ऊर्जामन्त्री

०७ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणले प्रमाण जुटाएर मात्रै डेडिकेटेड तथा ट्रंक लाइनको विवादित महसुल उठाउने बताएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगीहरूले उपभोग गरेको विद्युतको विषयमा प्रमाण जुटाउने काम भइरहेको बताएका हुन् ।

‘यस विषयमा व्यवसायीसँग व्यक्तिगत तथा समूह–समूहमा छलफल भइरहेको छ । उद्योगीहरूले उपभोग गरेकै हो भन्ने पुष्टि गर्न प्रमाण जुटाउने काम भइराखेको छ,’ उनले भने, ‘उहाँहरूले उपभोग गरेको प्रमाण दिएर र चित्त बुझाएर महसुल संकलन गरिन्छ ।’

नियमित विद्युत् महसुल तिरेका उद्योगीहरूसँग अतिरिक्त शुल्क तिर्नुपर्ने कि नपर्ने भन्ने विषयको विवाद भएकाले त्यसलाई पनि मन्त्रालय र प्राधिकरण बसेर एउटा टुंगोमा पुर्‍याउने मन्त्री खड्काले बताए ।

‘यो विषय संसदमा प्रवेश गरिसकेको विषय छ । लेखा समितिमा छलफल चलिराखेको छ । त्यहाँबाट केही निर्णय आउँला । प्राधिकरण र मन्त्रालय बीचमा पनि छलफल चलिरहेको छ,’ उनले भने ।

‘कुलमान हटाउने योजना छैन’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी सरकारले नगरेको मन्त्री खड्काले बताए ।

‘प्राधिकरण र मन्त्रालय बीचमा मतभेद भएको कुरा गलत हो, कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद कुरा हो,’ सँगै रहेका घिसिङलाई देखाउँदै उनले भने, ‘उहाँलाई सोधे पनि हुन्छ, न हामीले त्यो सोच बनाएका छौं, न उहाँले नै त्यस्तो अनुभूति गर्नुभएको छ ।’

आफूहरूको टिम मिलेको र घिसिङलगायतले उत्साहपूर्वक काम गरिरहेको उनले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours