बैंकहरूको कमजोर वित्तीय विवरणले झार्‍यो सेयर बजार

०७ कात्तिक, काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण कमजोर देखिँदा त्यसको नकारात्मक प्रभाव सेयर बजारमा परेको छ ।

समग्र सेयर बजारमा बैंकिङ सेक्टरको प्रभाव सबैभन्दा धेरै पर्ने गर्छ । बैंकहरूको पहिलो त्रैमासिक वित्तीय विवरणमा औसत नाफामा सुधार त देखिएको छ तर त्यो नाफा खुद ब्याज आम्दानी (मुख्य बिजनेस) बढेर नभई नियामकीय प्रावधानमा केही सहजताका कारण भएको छ । अर्कोतर्फ निष्क्रिय कर्जामा सुधार देखिएको छैन ।

बैंकहरूले नउठेको कर्जा उठाउने र त्यसले वितरणयोग्य नाफा उच्च दरमा बढ्ने अनुमान रहे पनि कतिपयको वितरणयोग्य नाफा नै ऋणात्मक भएको छ ।

जसले गर्दा बुधबार सेयर बजारमा सबैभन्दा धेरै बैंकिङ सेक्टर घट्यो र यहीं सेक्टरले बजारलाई झार्‍यो । नेप्से परिसूचक २०.४१ अंक अर्थात् ०.७६ प्रतिशत घटेको छ । सो गिरावटपछि नेप्से २६४५ अंकमा कायम भएको छ ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २७ करोडको भयो । कुल ७६ कम्पनीको मूल्य बढ्दा १५५ को घट्यो भने १३ को स्थिर रह्यो । नेप्से ०.७६ प्रतिशत घट्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.७० प्रतिशत घट्यो ।

विकास बैंक ०.६५, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५, जीवन बीमा ०.७१, उत्पादन ०.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.४३, अन्य समूह ०.४५ प्रतिशत घटे । ब्यापार ०.२५ र फाइनान्स समूह २.३२ प्रतिशत बढे ।

आईसीएफसी फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.९३, मञ्जुश्री फाइनान्सको ६.६७ तथा साहस ऊर्जाको ५.८ प्रतिशत मूल्य बढ्यो । माहुली लघुवित्तको मूल्य ४.२८ प्रतिशत घट्यो । हिमालयन बैंकको ४.०७, सिटिजन्स बैंकको ३.९७, ग्रीन भेन्चरको ३.९३ तथा प्रभु बैंकको ३.८८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, कुमारी बैंक, साहस ऊर्जा, समृद्धि फाइनान्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours