इम्पेरिमेन्ट चार्ज बढ्दा एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट

०७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा समीक्षा अवधिमा ८९ प्रतिशत घटेको हो ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा ११ करोड ५ लाख रुपैयाँ मात्रै कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी जम्मा २ रुपैयाँ ९१ पैसा छ।

बैंकको नाफामा भारी गिरावट आउनुमा खुद ब्याज आम्दानीसँगै फी तथा अन्य कमिसन आम्दानी घट्नु र इम्पेरिमेन्ट चार्ज बढ्नु हो । खुद ब्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा अहिले समीक्षा अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ छ ।

त्यस्तै फी तथा अन्य कमिसन आम्दानीमा पनि उच्च गिरावट देखिएको छ । यस्तो आम्दानी पहिले ७३ करोड रहेकोमा अहिले ३४ करोडमा झरेको छ । धेरै बैंकको इम्पेरिमेन्ट चार्ज घट्दा यसको बढेको छ । पहिले लोन लस प्रोभिजन अर्थात् इम्पेरिमेन्ट चार्ज वापत ६४ करोड छुट्याएकोमा यो पटक बढेर १ अर्ब १६ करोड पुगेको छ ।

बैंकको निष्क्रिय कर्जामा भारी वृद्धि भएको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा कुल कर्जामा १.३७ प्रतिशत रहेकोमा यो वर्षको असोज मसान्तसम्म ४.२४ प्रतिशत छ । यसले बैंकले ऋणीबाट समयमै उठाउन नसकेको साँवा तथा ब्याज रकम उच्च दरले बढेको जनाउँछ ।

सीडी रेसियो ७९ प्रतिशत छ । आधार दर एक वर्षको अवधिमा १०.५६ बाट ८.३७ प्रतिशतमा झरेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब २१ करोड ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours