ललितकलाले बुझायो वार्षिक प्रतिवेदन, सातै प्रदेशमा ‘कला हब’ निर्माण गरिने

०७ कार्तिक, काठमाडौं । ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातवटै प्रदेशमा कला हब निर्माण कार्य सुरु भएको जनाएको छ । रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढेको, दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिएको र बाँकी प्रदेशमा तयारी सुरु भएको प्रतिष्ठानको भनाइ छ ।

प्रतिष्ठानका संरक्षक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई बुझाइएको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदनमा ती कुरा उल्लेख छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले मन्त्री पाण्डेलाई प्रतिवेदन हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष हार्तम्छालीले काठमाडौं ट्रिएनाले मार्फत नेपाली कलाको अन्तर्राष्ट्रिय पहिचान दिलाउने गरी साझेदार संस्था सिद्धार्थ आर्ट फाउण्डेसनसँग मिलेर कार्यको तयारी भइरहेको जानकारी दिए ।

यो आर्थिक वर्षमा प्रतिष्ठानले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा गरेका भित्तेचित्र, शिक्षामा सीप, वैश्विक तापमान वृद्धिले हिमाली क्षेत्रमा परेका असर र त्यसका लागि गर्नुपर्ने कार्यका बारेमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनी, कलाकार उपचार कोषलगायत विषयलाई प्रतिवेदनमा समेटिएको उल्लेख गरे ।

मन्त्री पाण्डेले असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले क्षति व्यहोर्नुपरेको र आफ्नो व्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न केही ढिलो भएको बताउँदै प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाउने जानकारी गराए ।

देश संघीय संरचनामा गइसकेपछि प्रदेश तथा पालिकामा समेत प्रज्ञा प्रतिष्ठान बन्ने क्रम बढेको तर यसमा केन्द्रका प्रज्ञा प्रतिष्ठानसँगको समन्वय तथा एकरूपतामा भने ध्यान दिनुपर्ने आवश्यकता रहेको धारणा राखे । ‘प्रतिष्ठान भनेका हाम्रा थिङ्क ट्याङ्क हुन् । तपाईंहरूले सीमित स्रोत र साधनका बीच पनि राम्रो काम गरिरहनुभएको छ । मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने छ’ पाण्डेले भने ।

कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको भन्दै मन्त्री पाण्डेले ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको बताए । प्रतिष्ठानले लिएका नीति तथा कार्यक्रमले देशको कला र संस्कृतिमा सकारात्मक प्रभाव पर्ने विश्वास आफूले लिएको विचार व्यक्त गरे ।

कुलपति हार्तम्छालीले नेपालको ललितकलाको विकासका लागि प्रतिष्ठानले रणनीतिक योजना तय गरेर अगाडि बढेको र त्यसले सकारात्मक प्रभाव परेको बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकलाका क्षेत्रमा खोज, अनुसन्धानमा थुप्रै काम गर्न बाँकी रहेको बताउँदै देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको ललितकला क्षेत्रका यी विविध काम गर्न पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्ने धारणा राखे ।

सदस्य-सचिव थुम्केलीले प्रतिष्ठानले एसिया स्तरको संग्रहालय बनाउने गरी तयारी गरिरहेको जनाउँदै नेपाली ललितकलाको विकास, संरक्षण, प्रवर्द्धन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours