स्टान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड

०७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म स्टान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड रुपैयाँ छ । सार्वजनिक पहिलो त्रैमासिक विवरणअनुसार बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ५७ रुपैयाँ ५६ पैसा हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ४.१ प्रतिशत बढेको हो । गत आवको यसै अवधिमा यस्तो नाफा ८२ करोड ७७ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी घट्दा पनि इम्पेरिमेन्ट चार्ज फिर्ता भएपछि नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी १५ प्रतिशत घटेको छ । पहिले खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड रहेकोमा अहिले १ अर्ब १६ करोडमा खुम्चिएको छ ।

नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ११ पैसा रहेकोमा अहिले ३६ रुपैयाँ ५७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ छ ।

निष्क्रिय कर्जा बढेको छ । गत वर्षको असोज मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश १.१० प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म १.९५ प्रतिशत छ । सीडी रेसियो ७६ प्रतिशत छ भने बैंकको आधार दर एक वर्षमा ८.४२ बाट घटेर ५.७१ प्रतिशतमा झरेको छ । मंगलबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता ६८७ रुपैयाँ ५० पैसा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours