बीमा गर्न बाध्य पार्ने कानुन बनाउन भनेका छौं : अध्यक्ष सिलवाल

०६ कात्तिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् ।

नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले आफू ७ प्रदेशका विभिन्न क्षेत्रहरुमा पुग्दा नागरिकमा बीमाबारे जानकारी नै नपुगेको पाएको बताए ।

नीतिबाट बीमाका लागि बाध्य बनाउनसके त्यसको फाइदा विमित स्वयंले पाउने अध्यक्ष सिलवालले बताए ।

‘म सातै प्रदेशको क्षेत्रमा पुगेको छु । बीमा भन्नेकुरा सुनेको छ, बीमा उसले गरेको छैन । यसका दुई कारण छन् । मसँग (पैसा) छ तर म गर्दिन, किनभने मलाई वाइयात लाग्छ एउटा कारण । अर्को, मलाई गर्नु चाहिँ छ तर मसँग पैसा छैन । त्यसकारण हामीले अहिले सरकारसँग लबिङ गरिरहेको कुरा भनेकै बीमा गर्न बाध्य बनाउनुपर्‍यो’,उनले भने ।

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआइआइ २०२४) मंगलबार काठमाडौंमा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनले म्युनिख रे फाउण्डेसन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औं संस्करण आयोजना गरेका हुन् ।

९ कात्तिकसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours