खाद्य प्रणालीमा जलवायु परिवर्तनको दुष्प्रभाव रोक्न माग

०६ कार्तिक, काठमाडौं । खाद्य प्रणालीमा जलवायु परिवर्तनको दुष्प्रभाव रोक्नुपर्ने जलवायु तथा खाद्य अधिकार अभियन्ताहरुले माग गरेका छन् । काठमाडौंमा प्रदर्शन गर्दै उनीहरुले खाद्य प्रणालीमा जलवायु परिवर्तनको दुष्प्रभाव रोक्न र खाद्य अधिकार सुनिश्चितताका लागि दीर्घकालीन नीति तथा कार्यक्रम बनाउन माग गरे ।

सोमबार विभिन्न एसियाली मुलुकमा भएको खाद्य अधिकार र जलवायु न्यायका सन्दर्भमा काठमाडौंमा पनि ऐक्यवद्धता स्वरूप उक्त कार्यक्रम आयोजना गरिएको हो ।

लगातार वर्षाका कारण आएको विनाशकारी बाढी, पहिरो र त्यसले कृषि क्षेत्रमा गरेको अर्बौंको क्षतिको पूर्तिका लागि नेपाल जस्ता अति कम विकसित राष्ट्रको आवाज अन्तर्राष्ट्रिय जलवायु छलफलमा उठाउन प्रदर्शन गरिएको उनीहरुले बताए ।

आयोजक संस्थामध्येको एक गरिबी उन्मूलनका लागि दक्षिण एसिया मञ्च (सापे) का प्रमाण अधिकारीले भने, ‘खाद्य असुरक्षाको अन्त्य खाद्य सम्प्रभुतामा निहित छ, जसले विश्व बजार र बहुराष्ट्रिय निगमहरूभन्दा खाद्य उत्पादन, वितरण र उपभोग गर्नेहरूको अधिकार र आवश्यकतालाई प्राथमिकता दिन्छ ।’

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (एनआरएन) का भानु पराजुलीले भने, ‘हाम्रो वर्तमान खाद्य प्रणाली दिगो वा जलवायु अनुकूल छैन । त्यसैले यसलाई दिगो र जलवायु अनुकूल बनाउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours