राष्ट्रसङ्घका महासचिवलाई भेट्दै पुटिन

०६ कार्तिक, काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने क्रेमलिनले बताएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो ।

केन्द्रीय रूसी शहर कजानमा आयोजना हुने ब्रिक्स सम्मेलनको सन्दर्भमा उनहरूबीच भेट हुनेछ । पश्चिमले रूसलाई युक्रेन आक्रमणका कारण अलग गर्न प्रयास गरेको छैन भन्ने देखाउन मस्कोले मञ्चको उपयोग गर्न चाहन्छ ।

पुटिनले अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले सोमबार पत्रकारहरूलाई बताए ।

महासचिव गुटेरेसले रूसको सैन्य आक्रमणप्रति बारम्बार आलोचना गर्दै यसले ‘वैश्विक स्तरमा खतरनाक उदाहरण’ तयार पारेको बताएका छन् ।

उनले ‘अन्तर्राष्ट्रिय कानूनको आदर र युक्रेनको क्षेत्रीय अखण्डता’ को सम्मान गर्ने ‘उचित शान्ति’ का लागि आह्वान गरेका छन् ।

सन् २०२२ अप्रिलको भ्रमणमा रूसले आफ्नो आक्रमण सुरू गरेको दुई महिनापछि गुटेरेसले सङ्घर्ष क्षेत्रहरूबाट नागरिकहरूको मानवीय सहायता र सुरक्षित निकासीका प्रस्तावहरूबारे छलफल गरेका थिए ।

साढे दुई वर्षको सङ्घर्षलाई अन्त्य गर्न व्यापक वार्ताका लागि न किएभ न त मस्को अझै खुला देखिएका छन् ।

पुटिनले युक्रेनलाई दक्षिण र पूर्वमा अधिक भू–भाग त्याग गर्ने आदेश गर्दै शान्ति सम्झौताको पूर्व–शर्तका रूपमा माग गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जमिन त्यागेर शान्ति सम्झौता गर्न अस्वीकार गरेका छन् र पुटिनसँग सीधा वार्ता गर्ने बाटो बन्द गरिदिएका छन् ।

गत महिना संयुक्त राष्ट्रसङ्घमा बोल्दै जेलेन्स्कीले स्थायी सदस्य रहेको सुरक्षा परिषद्मा मस्कोलाई शान्तिका लागि विवश बनाइनुपर्ने बताएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours