पञ्चकन्या स्टिललाई ग्रिनप्रो प्रमाणपत्र

०४  कात्तिक, काठमाडौं । पञ्चकन्या ग्रुपको सिस्टर कन्सर्न उद्योग पञ्चकन्या स्टिल प्रालिले ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

पञ्चकन्या स्टिलको उत्पादन टीएमटी रिब्डबारले सन् २०२४ का लागि सीआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको ग्रुपले जनाएको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको ग्रुपको दाबी छ ।

३० असोज २०८१ मा भारतको दिल्लीमा आयोजित कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरेका थिए ।

पञ्चकन्या स्टिलको टीएमटी रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टता प्रतिको प्रतिबद्धताको थप एक महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) – सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

यो प्रमाणपत्रले पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीको भनाइ छ ।

यसै बीच दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिँदै भारत र न्यूजिल्यान्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

न्यूनतम कार्बन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो ।

हालसम्म विश्वका ४८० उद्योगहरूका ९ हजार ५०० थरिका उत्पादनहरूले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours