कालिकालाई चार लाखको दर्शन

०३ कात्तिक, म्याग्दी (बेनी) । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैँको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म देशका विभिन्न जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजन पूजाआराधना, दर्शन र भ्रमणका लागि आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

दसैँको सप्तमी र महानवमीका दिन मात्रै करिब दुई लाख भक्तजनले भगवती मन्दिरको दर्शन गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सप्तमी र नवमीका दिन मात्र दुई लाख भक्तजनले मन्दिरमा पूजाआजा र दर्शन गरेको हामीले अनुमान गरेका छौँ । नवरात्रको अन्य दिनमा पनि भक्तजनको भिड भएकाले यसपालि चार लाख भक्तजनले मन्दिरको दर्शन गरेको हाम्रो अनुमान हो ।”

गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछि भक्तजनको सङ्ख्यामा वृद्धि भएको हो । मन्दिरमा बलि दिने परम्परा विस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ । तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा हुँदै आएको छ । पछिल्लो समय मन्दिरपरिसरमा निर्माण भएका भौतिक पूर्वाधार र प्रचारप्रसारका कारण भक्तजनको सङ्ख्या बढ्दै गएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours