०१ कार्तिक, काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दैछन् ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।
प्रतियोगिता अन्तर्गत नेपालले शुक्रवार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।
+ There are no comments
Add yours