नेपाल बाहेक अन्य ठाउँमा दशैं मान्ने अनौठा चलन, कहाँ-कहाँ कसरी मनाइन्छ?

राजेन्द्र तिवारी

२९ असोज, काठमाडाैँ । ‘दशैं’ यो शब्द सुन्नासाथ अधिकांशको मनमा आउने भनेको लामो बिदा, टाढा रहेका परिवारका सदस्यसँग भेटघाट, मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पीङ खेल्ने भन्ने आउँछ ।  यति मात्रै होइन दशैं लगायत चाडपर्वमा आर्थिक गतिविधि पनि धेरै हुनेगर्छ । चाडमा आफूभन्दा ठूलाबाट लिने आर्शीवाद तथा शुभेच्छा लिने गरिन्छ ।

त्यसो त देशभित्रै पनि दशैं मनाउने शैलीमा धेरै अन्तर छन् । पुर्वमा दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिकाको चलन छ । तर पश्चिममा धेरै जसोले दशमीको दिन मात्र टिका लगाउँछ्न् । समुदाय अनुसार पुजा र खानपानमा पनि धेरै अन्तर छ ।

नेपाल बाहेक भारत, बङ्गलादेश, बर्मा, मलेसिया जस्ता थुप्रै देशमा दशैँ मनाइन्छ । तर सबै ठाउँको चलन उस्तै छैन्, हामीलाई अनौठो लाग्ने गरी संसारभर फरक ढंगले मनाइन्छ दशैं । कहाँ कहाँ कसरी मनाइन्छ त?

१. काश्मीर: लगातार नौ दिन उपवास

नवरात्री पर्वको रूपमा भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले दशैं मनाउँछन् । दशैंलाई निकै पवित्र चाडको रूपमा लिइन्छ । बालबालिका बाहेक घरका सबै सदश्यले ९ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने चलन छ । हरेक दिन खीर भवानी देवीको पूजा गरिन्छ ।

२. तामिल नाडु: तीन देवीको बराबर पुजा

भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममा नौ दिनसम्म दशैं मनाइन्छ । अनौठो कुरा के छ भने उनिहरूले नौ दिन मध्ये तीन-तीन दिन छुट्टा छुट्टै देवीको पुजा गरिन्छ । सुरको ३ दिन लक्ष्मीको, त्यसपछी ३ दिन सरस्वतीको र बाँकी ३ दिन दुर्गाको पुजा धुमधाम गरिन्छ ।

३. गुजरात: नौ दिन गर्बा नाच

गुजरात क्षेत्रमा नवरात्रीको नामले परिचित छ दशैं । नौ दिनसम्म हरेक रात गर्बा नाच्ने चलन छ । महिला पुरुष सँगै नाचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ । दुर्गाको मुर्ती, तस्वीर छेउमा राखी दिप प्रज्वलन गरी नाच नाचिन्छ ।

४. उत्तर भारत: रामलिला

उत्तरप्रदेश, बिहार, उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दशैं दुर्गा माता भन्दा भगवान राममा बढी केन्द्रित छ । नौ दिनसम्म तुलसीदासले लेखेको रामचरित्रमानसमा आधारित भएर रामलिलाको प्रर्दशन हुन्छ । बिहारको सितामाडीको जनावर, हस्तकलाका सामान र घरयासी सामान किनमेलको निकै ठूलो मेला लाग्ने गरेको छ ।

५. हिमाञ्चल प्रदेश: विशाल धार्मिक यात्रा, रघुनाथको पुजा

हिमाञ्चल क्षेत्रवासीले दुर्गाको अलवा स्थानी देवता रघुनाथको पनि भव्य पुजा गर्छन । हजारौं सहभागी भएर झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गरिन्छ । यात्रामा नाँच गान पनि गरिन्छ ।

६. बंगलादेश र पश्चिम बंगालमा ५ दिन मात्र

दसहराको नाममा पश्चिम बंगालमा ५ दिन मात्र दशैं मनाइन्छ । ठाउँठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मिठामिठा परिकार पकाएर खाने चलन छ । बंगलादेशमा पनि हिन्दुहरू पाँच दिनको नै दशैं मनाउँछ्न । राजधानी ढाका लगायतका ठाउँमा देवी दुर्गाको विशाल मन्डप बनाइएको हुन्छ । अन्तिम दिन नदीमा लगेर विसर्जन गर्ने चलन छ ।

७. महाराष्ट्र: दशौं दिन सरस्वती पुजा

महाराष्ट्र क्षेत्रमा दशैंको नौ दिन दुर्गाको पुजा गरिन्छ भने दशौं दिन सरस्वतीको । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै भव्य रूपले पुजा गर्छन् । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारिका लागि यो दिन उपयुक्त मानिन्छ ।

८. इरानः नेपालमा जस्तै जमरा राखिन्छ

नेपालमा दशैंका लागि घटस्थापनाको दिन जमरा राख्ने गरिन्छ । धान, जौं, गहुँ, मकै लगायतका बिज छरेर उम्रिएको जमरालाई दशमीको दिन मान्यजनले लगाइदिने विशेष पर्व दशैं हो । दशैंमा जमराको विशेष महत्व हुन्छ । नेपालमा मात्र होइन इरानमा पनि जमरा राखिन्छ । नौरोज भनिने नेपाली जमराजस्तै इरानी जमरालाई पनि नौ दिन राखेर तयार गरिन्छ र दशौं दिन त्यसलाई टेबलमा सजाएर राख्ने प्रचलन रहेको छ । नेपालमा जस्तो जमरा लगाउने भन्दा पनि त्यसलाई टेबलमा सजाएर राख्ने प्रचलन रहेको छ र त्यस दिन आफन्तका नाममा मैनवत्ती बाल्ने प्रचलन रहेको हुन्छ ।

घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म नेपालमा दशैं मानिन्छ भने नौरोज १३ दिनको हुन्छ । पूर्णिमामा जमरालाई नदीमा सेलाएको जस्तै इरानी जमरा पनि १३ दिनको दिन नजिकको नदीमा लगेर सेलाउने प्रचलन रहेको छ । तर इरानी जमरा राख्ने समय त्यहाँको नयाँ वर्षको अवसरमा हुने गरेको छ । नौरोजलाई संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान तथा संस्कृति सङ्गठन युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यो चाड इरानसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ । दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, भारत र बंगलादेशका केही स्थानमा नौरोज मनाइने युनेस्कोको वेबसाइटमा उल्लेख गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours