सङ्कटमा कालीगण्डकीको स्टिमर

२५ असोज, वालिङ । कालीगण्डकीमा धार्मिक तथा व्यापारिक प्रयोजनसँगै सहज यात्राका लागि प्रयोग हुँदै आएको जल यातायात (स्टिमर) सङ्कटमा पर्दै गएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध बनाउँदा बनेको तालमा गएको २० वर्षदेखि स्टिमर सञ्चालनमा छ । यसको प्रत्यक्ष फाइदा स्याङ्जा, पर्वत र गुल्मीका नागरिकले लिँदै आएका छन् । स्टिमर सेवा तीन जिल्लाका नागरिकका लागि सहज यात्राको माध्यम हो भने अन्यत्रबाट कालीगण्डकी पुग्नेका लागि धार्मिक र मनोरञ्जनको प्रमुख साधन हो ।

कालीगण्डकी गाउँपालिका–७ को आँधीमुहानबाट ४५ मिनेटको जलयात्रापछि शालिग्राम सेतीबेनी शिला पुग्न सकिन्छ । शालिग्राम शिलाको दर्शन गर्न विभिन्न चाडपर्वमा हिन्दु धर्मावलम्बीको घुइँचो लाग्ने गर्छ । यो समय स्टिमर यात्रुले भरिभराउ हुन्छ । अरू बेला भने स्टिमर सेवा बन्द जस्तै अवस्थामा पुग्ने गरेको छ । केही वर्षअगाडिसम्म दिनहुँ कयौँ पटक ओहोरदोहोर गर्ने स्टिमर अहिले निकै कम मात्र सञ्चालन हुने गरेको छ । स्टिमर चलाएरै जीवन गुजारा गरिरहेकाहरू प्रभावित भएका छन् ।

कालीगण्डकी कोरिडोर सञ्चालन

पछिल्लो समय कालीगण्डकी कोरिडोरमा यातायात नियमित सञ्चालन हुन थालेको छ । पर्वत तथा कालीगण्डकीका यात्रु यही मार्ग हुँदै ओहोरदोहोर गर्छन् । बुटवलबाट पाल्पा हुँदै स्याङ्जा पुगेर स्टिमर चढ्नुभन्दा सिधै कोरिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सहज हुन्छ जसका कारण स्टिमर प्रभावित भएको छ । यात्राका लागि सबैभन्दा धेरै प्रयोग गर्ने पर्वत र गुल्मीका नागरिकले स्टिमरप्रति कम चासो दिँदै आएका छन् । कोरिडोर पूर्ण रूपमा सञ्चालनमा आउँदा स्टिमर सेवा प्रभावित भएको कालीगण्डकी जलयातायात समितिका कोषाध्यक्ष सुमित्रा बोटेले बताउनुभयो ।

सडक निर्माण र तालको सङ्कुचन

केही वर्षयता कालीगण्डकी ‘ए’ जलविद्युत् निर्माणस्थलको जलाशय पुरिने व्रmम बढिरहेको छ । कुनै बेला शालिग्राम शिलानजिकै पुग्ने गरेको स्टिमर अहिले निक्कै तल रोकिने गरेको छ । तालमा थुप्रिँदै गएको माटो तथा ढुङ्गाले तल रोकिने गरेको हो । स्याङ्जा र गुल्मी दुवैतर्फ खनिएका सडकले ताललाई साँघुरो बनाउँदै लगेको छ । कालीगण्डकीको माथिबाट आएको बालुवा र ढुङ्गाले पनि बाँधको सङ्कुचन गराउँदै नियमित स्टिमर चलाउन बाधा पुगिरहेको स्थानीय प्रेम माझीको भनाइ छ ।

विसं २०५८ बाट निरन्तर स्टिमर सञ्चालन हुँदै आएको छ । केही वर्षअगाडिसम्म १२ वटा स्टिमरले सेवा दिइरहेको थियो तर अहिले भने चार वटा स्टिमर मात्रै सञ्चालनयोग्य छन् । त्यो पनि नियमित सञ्चालन नहुने कोषाध्यक्ष बोटेले जानकारी दिनुभयो । जल यातायातसँगै मनमोहक दृश्य हेर्न पाइने भए पनि यसको यात्रा गर्नेको

सङ्ख्यामा कमी आएको कालीगण्डकी गाउँपालिका–७ का वडाध्यक्ष उमप्रकाश भट्टराईले जानकारी दिनुभयो । धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको यस क्षेत्रमा नियमित जल यातायात सञ्चालन गर्न तीन जिल्लाका प्रभावित पालिकाले प्रयास गर्दै आएको गल्याङ नगरपालिकाका प्रमुख गुरूप्रसाद भट्टराईले बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours