२३ असाेज, काठमाडौँ । दशैंको नाम सुन्नासाथ नै मनमा एक किसिमको उत्साह र उमंग पैदा हुन्छ। बाल्यकालमा दशैंको मस्ती नै बेग्लै थियो। नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने, कति आनन्दको पर्व! दशैंको कुरा आउँदा मलाई मेरो जन्मथलो सर्लाही र बाल्यकालको सम्झनाले सताउँछ।
तिजसँगै दशैंको रौनक सुरु हुन्थ्यो। सोह्र श्राद सुरु भएपछि दशैंको तयारीका लागि गर्नुपर्ने कामहरूको सूची तयार हुन्थ्यो। घरमा रङ्ग लगाउने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने आदि कामहरूमा व्यस्त हुन्थ्यौं।
हाम्रो घरको तल्लो तला माटो र इट्टाले बनेको र माथिल्लो तला काठको फलेकले बनेको थियो। घर रङ्गाउने काममा बाबालाई भन्दा मलाई हत्तार हुन्थ्यो। साथीहरूका अगाडि आफ्नो घर राम्रो देखियोस् भन्ने लाग्थ्यो। त्यसैले सकि नसकि भित्तामा भ¥याङ अड्याएर बाबासँगै कुचोले चुना र रातो माटोलाई छाँट मिलाई लगाउँथे। सोह्र श्रादबाटै घर शुद्ध र सफा राख्नुपर्छ भन्नुहुन्थ्यो ममीले। घरकी ठूली छोरी भएकाले घरआँगनको सरसफाइमा, कपडा धुन र चिउरा कुट्ने काममा ममीलाई सघाउनु पथ्र्यो।
चिउरा कुट्ने काममा मलाई धेरै रमाइलो लाग्थ्यो। बारीमा पाकेको काँक्रोको गालेको अचारसँग पोलेको, भुटेको मकै खाँदै पालोपालोसँग आधा रातसम्म ढिकी घरमा रमाइलो गर्दै चिउरा कुट्थ्यौं। घर नजिकै चिउरा मिल नभएको र बाबाले ढिकीमै कुटेको चिउरा मन पराउने भएकाले घरमै बनाउँथ्यौं। त्यस्तो चिउराको स्वाद अहिले कहाँ पाउनु!
बर्षमा एकैपटक दुई जोर कपडा पाउने दशैं कहिले आउला जस्तो हुन्थ्यो। स्कुलको ड्रेस र टीकाको दिनमा लगाउने अर्को ड्रेस। बाबाले स्कुल ड्रेस नयाँ नै छ, अहिलेलाई यसैले चलाउनु भन्नुहुन्थ्यो भने रोइकराई गरेर नयाँ स्कुल ड्रेस किन्न लगाउँथेँ। दशैंको बिदापछि स्कुल जाँदा सबै साथीहरूका नयाँ चप्पल, नयाँ ड्रेस देखाउने होडबाजी चल्थ्यो। अनि आफूमात्रै पुरानो लगाएर जानु कसरी?
हाम्रो परिवारमा बाबा, ममी र बहिनी शाकाहारी भएकाले खसीबोका काट्ने चलन थिएन। तर पनि छिमेकीकोमा अष्ठमीका दिन काटेको खसीको भाग ल्याएर ममीले पकाएको मासुको स्वाद अझै पनि मुखमै झुन्डिएको छ। घट्स्थापना सुरु भएसँगै साथीभाइ र ठूला दाइहरुसँग मिलेर पिङ राख्नको चटारो हुन्थ्यो। बिहानै उठेर सिरु खोज्न जान्थ्यौं। सिरु या खरको व्यवस्था नभए घरै पिच्छे ५ र १० रुपैयाँ उठाएर पिङ राख्थ्यौं। पिङ राखिसकेपछि बल्ल दशैं आए जस्तो हुन्थ्यो। घरआँगन, बाटोघाटो, चौतारो सरसफाइ गर्ने र रङ्गाउने काम पनि गथ्यौं। सानै भए पनि सामाजिक काममा अगुवा भएर हिँड्थे ।
पहिला गाउँमा सबैका घरघरमा टेलिभिजन थिएन। सिनेमा हल पनि कहिँकहिँ मात्रै हुन्थ्यो। दशैं भनेपछि मनोरञ्जन गर्ने, खाने, खेल्ने, रमाउने र गाउँभन्दा बाहिर, देशभन्दा बाहिर रहेका आफन्त, छिमेकी जम्मा हुने पर्व भएकाले मनोरञ्जनका लागि चेतनामूलक नाटक लेख्थेँ। एक महिना अगाडिबाटै साथीहरू मिलेर अभ्यास गरिन्थ्यो। नाच्न पनि असाध्यै मन लाग्ने भएकाले नृत्य प्रतियोगितामा भाग लिने गर्थेँ। अष्ठमी÷नबमीका दिन भब्य सांस्कृतिक कार्यक्रम गरिन्थ्यो।
मनोरञ्जनको साधन अरु केही नभएकाले हामीले आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेर्न टाढाटाढा गाउँबाट पनि आँउथे। राम्रो नाचे बापत धेरैपटक नगद पुरस्कार पनि पाएकी छु। त्यो पैसा पाएपछि कहाँ खर्च गर्ने होला भनेर सोच्दा निद्रा हराउँथ्यो। अहिले गाउँलाई पनि सहरीकरणले ढाकेको छ। त्यस्ता दिन, त्यस्तो बेला र हाम्रा जस्ता स्वभाव र रुचि भएका केटाकेटी गाउँमा पनि कमै भेटिन्छन्।
हाम्रो गाउँमा दाजुभाइ आफन्त नभएकाले घरमा टीका लगाएपछि दशैं सकिए जस्तो हुन्थ्यो। सानै हुँदा साथीहरूसँग पैसा पाउने आसमा गाउँभरि डुलेको स्मृति ताजै छ। अलि बुझ्ने भएपछि छिमेकी काका काकीले टीका लगाउन आऊ भनेर कर गरेर बोलाउँदा पनि जान अफ्ठ्यारो लाग्थ्यो। मामा घर काठमाडौ भएकाले दशैं प्रायः सर्लाहीमै मनाइन्थ्यो। घरमा दिदी फूपुहरु पूर्णिमाका दिनसम्म पनि आइरहने हुनाले पनि ममीले घरबाट बाहिर जान दिनुहुन्नथ्यो।
+ There are no comments
Add yours