बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति

२२ असोज, बनेपा । गत साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा करिब ४३ करोड रुपियाँ बराबरको खाद्यान्न तथा तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीपहिरोबाट जिल्लामा ४२ करोड ७१ लाख रुपियाँ बराबरको बाली क्षति पुगेको हो ।

कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले कार्यालय सङ्कलन गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार बाढीपहिरोबाट जिल्लाका १३ वटा स्थानीय तहमा ६७० हेक्टरमा धान बाली, ३० हेक्टरमा मकै बाली र ४२८ हेक्टरमा तरकारी बालीमा क्षति पुगेको बताउनुभयो । उहाँले क्षेत्रफलका दृष्टिले धान खेतमा बढी क्षेत्रफलमा क्षति भए पनि आर्थिक रूपमा भने तरकारी खेतीमा सबैभन्दा बढी क्षति पुगेको बताउनुभयो । उहाँले बाढीपहिरोबाट धान, मकै, तरकारी तथा अन्यबाली गरी कुल एक हजार १२९ हेक्टर जमिनको बालीमा क्षति पुगेको भन्दै धान बालीतर्फ अनुमानित दुई हजार मेट्रिक टन, मकै बाली ८४ मेट्रिक टन र तरकारी तथा अन्य बाली गरी चार हजार तीन सय मेट्रिक टन क्षति भएको बताउनुभयो ।

उहाँले बाढीपहिरोका कारण छ करोड दुई लाख ८८ हजार रुपियाँ बराबरको धान, २३ लाख ५२ हजार रुपियाँ बराबरको मकै र ३६ करोड ४४ लाख ७१ हजार रुपियाँ बराबरको तरकारी तथा अन्य बाली क्षति भएको बताउनुभयो ।

उहाँले बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा सबैभन्दा बढी नौ करोड ४१ लाख, पाँचखाल नगरपालिकामा आठ करोड ३५ लाख, नमोबुद्ध नगरपालिकामा छ करोड एक लाख, धुलिखेल नगरपालिकामा पाँच करोड ४७ लाख, बनेपा नगरपालिकामा दुई करोड ५५ लाख र मण्डनदेउपुर नगरपालिकामा तीन करोड ४७ लाख रुपियाँ बराबरको बाली क्षति भएको बताउनुभयो ।

यसै गरी खानीखोला गाउँपालिकामा ४५ लाख, चौँरीदेउराली गाउँपालिकामा ७५ लाख, तेमाल गाउँपालिकामा १४ लाख, बेथानचोक गाउँपालिकामा ९१ लाख, भुम्लु गाउँपालिकामा ३७ लाख ५३ हजार, महाभारत गाउँपालिकामा ५२ लाख र रोसी गाउँपालिकामा चार करोड २७ लाख ८४ हजार रुपियाँ बराबरको बाली क्षति भएको कार्यालयले जनाएको छ ।

जिल्लाका १३ वटा स्थानीय तहमध्ये हालसम्म नौ वटा पालिकाको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । पशु विकास कार्यालय काभ्रेपलाञ्चोकले प्रारिम्भक तथ्याङ्क अनुसार बाढीपहिरोका कारण हालसम्म करिब चार हजार एक सयभन्दा बढी पशु मरेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख निशान्त गेलालले बाढीपहिरोबाट बढी क्षति भएको पनौतीमा दुई हजार एक सयभन्दा बढी पशुपन्छी मरेको तथ्याङ्क प्राप्त भएको बताउनुभयो । उहाँले जिल्लाको रोसी, चौँरीदेउराली, महाभारत र खानीखोला गाउँपालिकामा सम्पर्क हुन नसकेकाले तथ्याङ्क नआएको बताउनुभयो । हालसम्म प्राप्त तथ्याङ्क अनुसार बाढीपहिरोबाट गाई ५२ वटा, भैँसी ४० वटा, बाख्रा १६४ वटा, बङ्गुर ११३ वटा, कुखुरा ११२९ वटा, हाँस ४०४ वटा र खरायो पाँच वटा क्षति भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours