बाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

२२ असोज, काठमाडौँ । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ महाँकालमा प्रशोधन हुन्छ ।

दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन् ।

हिउँदमा यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा वितरण गरिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परैजाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ डाँछीका स्थानीय राममाया नगरकोटीले खानेपानी लिन गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुःखेसो गरे । उनले खानेपानी लिनका लागि करिब आधा घण्टाको पैदल यात्रा गरेर जाने र आधा घण्टा पैदल यात्रा गरी आउने एवं कहिले त पानीका लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको बताए ।

धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको नगरकोटीको अनुभव छ । यस्तो समस्या भोग्ने नगरकोटी मात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरागरी अर्को कार्यकालको आधा समय बितिसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ ।

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने धम्की दिने गरेपनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विछ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार गरे ।

वि.सं. २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । नगर प्रमुख हुँदा उनले मुहानवासीले खानेपानी नपाए मेलम्ची र वाग्मतीको पानी सहरमा वितरणका लागि नपठाइ वाग्मतीमा बगाउने चेतावनी दिएका थिए ।

तर, अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा पनि यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले बेवास्ता गरेको स्थानीय घनेन्द्र लामाको गुनासो छ ।

यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित भएकी शान्ति श्रेष्ठले ६ महिनाअघि खानेपानी मन्त्रीलाई दिएको ज्ञापनपत्रमा गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा भएको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नम्बर ५ भन्दा माथिका वडालाई मात्र समेटेकामा स्थानीयवासीको गुनासो छ ।

जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा पनि स्थानीयवासीले समस्या भोग्नुपरेको गुनासो स्थानीयवासीले गर्न थालेका छन् । मेलम्ची खानेपाली राजधानी ल्याउन अवरोध गरेका हेलम्बुवासीसँग सोमबार सम्झौता भएपछि आजदेखि नै पानी राजधानी पथान्तरण हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

मेलम्चीको पानी राजधानी आएपछि खानेपानी नपाए आन्दोलनमा उत्रनुको विकल्प नहुने स्थानीय बासिन्दाले बताएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours