एक हप्तामा बाँडियो ९३ करोड सुकिला नोट

२१ असाेज, काठमाडौं । दशैँका लागि सर्वसाधारणले गएको एक सातामा नेपाल राष्ट्र बैँकबाट ९४ करोड रुपैयाँ सुकिला नोट सहटी सुविधा लिएका छन् ।

गत असोज १३ गते देखि २० गते (हिजो) सम्ममा ९३ करोड ८० लाख रुपैयाँ सटही भएको केन्द्रिय बैंकका सह प्रवक्ता डा.डिल्लीराम प्रोख्रेलले बताए । उनका अनुसार यो रकम राष्ट्र बैँकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयबाट साटिएको रकम हो । बैँकले यो पटक ५, १०, २०, ५० र १०० को नोटको सटही सुविधा दिएको छ ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालयले सटही सुविधा शुरु गरेको पहिलो दिन असोज १३ गते १ करोड ४५ लाख रुपैयाँ वितरण गरेको थियो । असोज १४ गते १ करोड ८० लाख, असोज १५ गते २ करोड ३० लाख र असोज १६ गते २ करोड २ करोड ९२ लाख रुपैयाँ बाँडेको थियो ।

बैक तथा वित्तीय संस्थाले सटही गरेको रकम भने केन्द्रीय बैँकको तथ्यांकमा नहुने सह प्रवक्ता पोख्रेलले बताए । ‘बैंकहरुले आफूसँगै भएको रकम सटही गर्ने भएकाले हामीसँग बैंकहरुको तथ्यांक छैन,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले गत असोज १३ देखि सर्वसाधारणलाई नोट साट्नका लागि सूचना नै जारी गरेको थियो । बैँकले असोज २२ (भोलि) सम्म सुकिला नोट साटन सक्ने व्यवस्था गरेको छ । सर्वसाधारणले सबै दरका एक÷एक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रूपैयाँसम्म साट्न सक्नेछन् ।

राष्ट्र बैंकले सुकिला नोट साट्नका लागि केन्द्रीय कार्यालय बालुवाटारमा आठ वटा काउण्टर सञ्चालन गरेको छ भने सातैवटा प्रादेशिक कार्यालयबाट पनि रकम सटही सुविधा दिएको छ ।

बैँकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेश स्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिनेछ । त्यस्तै, केन्द्रीय बैँकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट साट्न सकिने छ ।

यस अघिका वर्षको दशैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैँकले सर्वसाधारणलाई नयाँ नोट नै वितरण गर्दथ्यो । तर, यो वर्ष भने केन्द्रिय बैँकले नयाँ नोटको नभई सुकिला नोट मात्रै वितरण गरेको छ । नयाँ नोट छाप्नका लागि अतिरिक्त रकम लाग्ने र सुकिला नोट पनि व्यवस्थापन हुने भएपछि केन्द्रीय बैँकले यो वर्ष सुकिला नोट मात्रै वितरण गर्ने निर्णय गरेको हो ।

विद्युतीय कारोबारमा सर्वसाधारणहरू अभ्यस्त हुन थालेपछि केन्द्रीय बैँकलाई सुकिला नोटको व्यवस्थापनमा कठिनाई हुन थालेको सह प्रवक्ता डा.प्रोख्रेलले बताए । तसर्थ बैँकले यस पटक सुकिला नोटको नै वितरण गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/०६८ को मौद्रिक नीति मार्फत सफा नोट नीति ल्याएको थियो । मुलुकभर सफा नोटमात्र चलनचल्तीमा ल्याउनुका साथै नोट व्यवस्थापन खर्च कम गर्ने उद्देश्य सहित केन्द्रिय बैँकले सफा नोट नीति अघि सारेको हो । सर्वसाधारण जनतामा गुणस्तरीय र सफा नोट चलनचल्तीमा ल्याउने, च्यातिएको, फोहोर नोटहरू चलनचल्तीबाट हटाउँदै जानु सफा नोट नीतिको उद्देश्य हो ।

नोटहरूको प्रयोग गर्न नजान्दा पुरानो नोटको व्यवस्थापनमा राज्यलाई ठूलो भार परेको छ भने अर्कातर्फ नेपालीको स्वास्थ्यमा पनि प्रभाव परेको छ । नोट पुराना भएपछि, च्यातिएपछि र झुत्रिएपछि त्यसको व्यवस्थापन केन्द्रीय बैँकले नै गर्नुपर्ने राज्यको व्यवस्था छ । देशभरबाट यस्ता नोट संकलन गरी व्यवस्थापन गर्न र नयाँ नोट छापेर देशभर वितरण गर्न केन्द्रीय बैँकले ठूलो लगानी गरेको हुन्छ ।

त्यस्तै, नोट धेरै व्यक्तिको हातमा पुगेको हुन्छ । मानिसहरूले फरक फरक परिस्थितिमा नोट समाएका हुन्छन् । नोट हात हातमा पुग्दा नोटमा विभिन्न किसिमका रोगका कीटाणुहरू पनि लागेको छ । जुन मानिसको स्वास्थ्य लागि हानिकारक हुन्छ । त्यसैले नोटको जतन गर्न र विद्युतीय कारोबारलाई प्राथमिकता दिन केन्द्रीय बैँकले आग्रह गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours