भरतपुर- कालिका नगरपालिका जोड्ने सडक कालोपत्रे

२१ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने प्रमुख सडकको कालिकातर्फको सडक धमाधम कालोपत्रे गर्न थालिएको छ ।

निकै लामो समयदेखि सडक बिग्रदा कालिका नगरपालिकासहित रत्ननगर नगरपालिकाको चैनपुर, पिठुवा आवातजावत गर्ने धेरैलाई समस्या हुँदै आएको थियो ।

कालिकाका मेयर विनोद रेग्मीले दशैं अगाडि नै नगरपालिका छिर्ने मुख्य सडकखण्ड अन्तर्गत कालिका गेटवेको सडक कालोपत्रे भएर सहज आवागमन हुने बताए ।

खगेडी खोलाको पुलदेखि गढुवाचोकसम्मको सडक सैयुन कन्स्ट्रक्सन प्रा.लि.ले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । गत वैशाख २६ गते ठेक्का लागेको सडक यही असोज ३० गतेसम्म काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरेको थियो । सो कम्पनीले वीपीचोकदेखि पूर्व वडा नं. ४ जाने सडक पनि कालोपत्रे गर्दैछ ।

दुवै सडकको गरेर भ्याट र पीएससहित एक करोड ३३ लाख ५ हजार १ सय ६४ को लागतमा सडक कालोपत्रे गर्न लागिएको छ ।

नगरप्रमुख रेग्मीले २ दिनमा नै कालोपत्रेको काम सकिने बताए । ६ मिटर चौडाइ र ३० एमएम मोटाईको पिच तयार हुँदै गरेको नगरप्रमुख रेग्मीले जानकारी दिए ।

उनले नगरपालिकाको आफ्नै बजेटबाट सडक कालोपत्रेको काम गरिएको बताए । ‘यो सडक कालिका छिर्ने मुख्य सडक हो, लामो समयदेखि सडक बिग्रदा सबैको गाली खानुपर्ने अवस्था थियो, घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएर हिड्न गाह्रो थियो, इम्प्रेसन पनि नराम्रो परेको थियो, तीन बर्ष अगाडि लागेको ठेक्का तोडर नयाँ ठेक्का गर्दा समय लाग्यो,’ नगर प्रमुख रेग्मीले भने, ‘नगरपालिकावासीकै करबाट उठेको रकमले सडक पिच गरेका हौं ।’

नगर प्रमुख रेग्मीले यो खण्ड कालोपत्रे गर्न संघीय सरकार, प्रदेश सरकारबाट सडकका लागि कुनै सहयोग नआएको बताए ।

भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने बरण्डाभार जंगलको सडक बिग्रदा यो सडक भएर यात्रा गर्नेहरूले धेरै नै सास्ती झेल्दै आएका छन् ।

कालिका जोड्ने सडकको अधिकांश खण्ड भरतपुरमा पर्छ । भरतपुरतर्फ बिग्रिएको सडक कालोपत्रे गर्नका लागि गत साउन २९ गते सडक डिभिजन कार्यालय भरतपुरले टेण्डर गरेको थियो । एक करोड ११ लाख २० हजार ४१९ रुपैयाँ भ्याटसहितको लागतमा सो ठेक्का गुण निर्माण सेवा हेटौडा ११ ले पारेको छ ।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चन्देश्वर यादवले भरतपुरदेखि कालिका जोड्ने सडकको बिग्रिएको सडक कालोपत्रे गर्ने गरी टेण्डर गरिएको बताए ।

उनले चालु आर्थिक बर्ष भित्रमा नै सडक कालोपत्रे हुने बताए । सो सडकखण्डको ठाउँ ठाउँमा ढलान छ । ढलान भएको भागलाई छाडेर बाँकी भाग कालोपत्रे हुने गरी टेण्डर गरिएको सूचना अधिकारी यादवले जानकारी दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours