वीर अस्पतालको न्युरो सर्जरी विभागले २५ वर्ष पूरा गर्‍यो

२० असाेज, काठमाडौं । वीर अस्पतालले न्युरो सर्जरी विभागका कार्यरत चिकित्सक तथा नर्सलाई सम्मान गरेको छ । ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टर’ स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित समारोहमा विभागको सुरुवातदेखि हालसम्म कार्यरत तथा त्यहाँ अध्ययन गरेका चिकित्सक तथा नर्सलाई सम्मान गरिएको हो ।

वीर अस्पतालमा सन् २००० बाट ‘एमसीएच न्युरो सर्जरी’ कार्यक्रम सुरु भएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट हालसम्म १६ जनाले न्युरो सर्जरीको डिग्री ‘एमसीएच न्युरो सर्जरी’ हासिल गरेका छन् ।

कार्यक्रममा बोल्दै न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले न्युरो सर्जरी विभाग वीर अस्पतालकै अब्बल विभागमध्ये एक रहेको बताए । ‘यहाँ तालिम लिएका लिएका न्युरो सर्जनहरुले हाल नेपालभर फैलिएर उत्कृष्ट सेवा प्रदान गरिरहनुभएको छ’ उनले भने ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले न्युरो सर्जरी विभागका कारणले पनि अस्पतालप्रति विश्वास बढेको बताए । उक्त विभागलाई अझै सुविधा सम्पन्न बनाउन आफ्नो तर्फबाट सम्पूर्ण सहयोग रहने उनले बताए ।

विभागीय प्रमुख प्रा. डा. राजीव झाले न्युरो सर्जरी विभागले निरन्तर प्रगति गरिरहेको बताए । ‘जनजीवन र जीविकोपार्जनका क्रममा हुने दुर्घटनाका कारण स्नायु मस्तिष्क समस्याका लागि अझै धेरै न्युरो सर्जन आवश्यक देखिन्छ’ उनले भने ।

उक्त विभागबाट उत्तीर्ण पहिलो न्युरो सर्जन डा. प्रकाश विष्टले शिक्षा र सेवा दुवैमा विभाग अब्बल रहेको बताए । आधुनिक प्रविधिलाई आत्मसात गर्दै विभाग अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours