२० असाेज, काठमाडौं । बहुप्रतीक्षित मानिएको ‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध बनेको छ । अपेक्षा विपरीत फिल्मले अन्तर्राष्ट्रिय बजारमा निराशाजक सुरुवात गर्यो ।
१९० मिलियन डलरको लागतमा बनेको फिल्मले शुक्रबार उत्तर अमेरिकामा ४ हजार १०२ बजारबाट २० मिलियन डलर मात्र कमाउन सक्यो । रिलिजअघि फिल्मले ५० देखि ६५ मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो ।
पहिलो सप्ताहन्त फिल्मले अघिल्लो भागले भन्दा निकै न्यून कमाउने अपेक्षा छ । पहिलो संस्करणले ९६.२ मिलियन मात्र कमाएको थियो । ‘यो समस्या बक्स अफिस बजारको समस्या होइन । यो सिर्जनात्मक विकासको समस्या हो’ फिल्म असफल भएकोतर्फ संकेत गर्दै वार्नर ब्रोज स्टुडियोका एक अधिकारीले भने ।
यो फिल्मले एक बिलियन डलर कमाउन नसक्ने तर हिट चाहिं हुने विश्लेषण भइरहेको छ । पाँच वर्षअघि रिलिज भएको ‘जोकर’को पहिलो भागले एक बिलियन डलर कमाइ गरेको थियो । जोकर धेरै कमाउने इतिहासकै एडल्ट फिल्म समेत हो ।
खराब समीक्षाका कारण टड फिलिप्स निर्देशकीय फिल्मले अन्तर्राष्ट्रिय बजारमै खराब ओपनिङको सामना गर्नु परिरहेको छ । नेपाली बक्स अफिसमा समेत पहिलो सप्ताहन्त लेडी गागा र ज्याक्विन फिनिक्स स्टारर फिल्मले खराब कमाइ गरेको छ । अकुपेन्सी पनि निकै न्यून देखिन्छ ।
भारतमा समेत फिल्मको कमाइ कमजोर छ । डेडलाइन हलिउडका अनुसार ‘जोकर २’ ले तीन दिनमा ४७ मिलियन डलर कमाउने अपेक्षा छ । अन्तर्राष्ट्रिय बक्स अफिसको दोस्रो स्थानमा पछिल्लो साता ‘द वाइल्ड रोबोट’, तेस्रोमा ‘बिटलजुस बिटलजुस’, चौथोमा ‘ट्रान्सफमर्स वन’, पाँचौंमा ‘स्पिक नो एभिल’ छ ।
+ There are no comments
Add yours