दसैंका बेला उखुकाे अनुदान रकम पाएपछि महोत्तरीका किसान मक्ख

२० असाेज, महोत्तरी । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी भएका छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् । उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएकाे छ । किसानलाई रु २० करोड ३३ लाख १५ हजार ८११ अनुदान दिइएको छ ।

कार्यालय प्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खोता खोल्न थालेका छन् । “रकम दाखिलाको क्रम जारी छ,” उहाँले भन्नुभयो । “ दसैँमा कसरी गर्जो टारौँ भन्ने थियो, अनुदान रकम आएपछि प्रसन्न छु”, भङ्गाहा–४ का उखु किसान अरुण गिरी भन्नुहुन्छ, “ हामीलाई दसैँ उपहार पाएजस्तै भएको छ ।” गिरीजस्तै बर्दिबास—९ पशुपतिनगरका अर्का किसान रामविनोद महतोले पनि चाडपर्वअघि अनुदान रकम पाइँदा राहत मिलेको बताउनुभयो ।

महोत्तरीमा दुईवटा चिनी उद्योग सञ्चालनमा रहेका भए पनि दुई वर्षअघि मात्र सञ्चालनमा आएको सिद्धिविनायक चिनी उद्योगले गत वर्ष प्राविधिक गडबडीले उखु क्रसिङ गर्न सकेन । एभरेष्ट चिनी उद्योगले भने २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ६४ हजार ५११ क्विन्टल चिनी उत्पादन गरेको थियो । गत वर्ष उखुको मूल्य उद्योगले रु ५४० र सरकारले अनुदान बापत ७० गरी प्रतिक्विन्टल रु ६१० कायम गरेको थियो । किसानले प्रतिक्विन्टल रु ७५० हुनपर्ने माग गरेका थिए ।

सरकारले पछिल्ला तीन वर्षयता उखुको अनुदान रकममा प्रति क्विण्टल रु पाँच बढाएर रु ७० पुर्याएको हो । उखुको समयमा नै भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएका यहाँका किसान उखुखेती विस्तार गर्ने योजनामा रहेका उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । हाल यहाँ दश हजार बिघामा उखुखेती भएको छ । उहाँले उखु उत्पादक किसानको सहभागितामा प्रत्येक वर्ष ‘क्रसिङ सिजन’अगावै को मूल्य निर्धारण हुनुपर्नेमा जोड दिनुभयो ।रासस

You May Also Like

More From Author

+ There are no comments

Add yours