१३ वर्षअघि सधैंको लागि अस्ताएका स्टिभ जब्स, तर अझै जारी छ उनको विरासत

१९ असोज, काठमाडौँ । एप्पलका सहसंस्थापक स्टिभ जब्सको निधन आजभन्दा ठीक १३ वर्षअघि अर्थात् अक्टोबर ५, २०११ मा भएको थियो । पृथ्वीबाट उनको भौतिक शरीर अस्ताए पनि उनको योगदानले पारेको प्रभाव अझै निरन्तर चलिरहेको छ ।

हरेक वर्ष स्टिभ जब्सको स्मृति दिवसमा एप्पलले कुनै न कुनै रूपमा श्रद्धाञ्जली व्यक्त गरिरहेको हुन्छ । खासगरी एप्पलको होमपेज परिवर्तन गर्नेदेखि उनकै नामको पेसमा श्रद्धाञ्जलीका शब्द राख्ने सुविधा एप्पलले ल्याएको छ ।

सन् २०२१ मा एप्पलले जब्सकी श्रीमती लरिन पवेल जब्बको सन्देश होमपेजमा राखेको थियो । सन् २०२३ मा एप्पलका सीईओ टिम कुकले जब्सको सम्झनामा ट्वीटर (एक्स)मा पोस्ट राखेका थिए ।

उनको ११ औं स्मृति दिवसअघि सन् २०२२ मा कुक, पावेल जब्स र जोनी आइभले मञ्चमा उनलाई सम्झेर छलफल गरेका थिए ।

‘कोड २२’ प्यानलको छलफलमा कारा स्विशरसँगको कुराकानीको क्रममा पावेल जब्सले स्टिभ जब्स आर्काइभ अनलाइन सुरु गर्ने घोषणा गरिन् ।

यस आर्काइभलाई बढ्दै जाने श्रद्धाञ्जली र प्रेरणा स्वरूप बनाइएको थियो । जसमा पछि पुस्तक पनि समावेश हुने योजना थियो । आर्काइभको सुरुवात स्टिभ जब्सले आफैंलाई पठाएको इमेलबाट भएको थियो । रिपोर्टका अनुसार जब्सले आफैंलाई प्रायः नोट्स र विचारहरू ईमेल गर्थे ।

“म मेरो जीवन र भलाइका लागि उनीहरूमा पूर्ण रूपमा निर्भर छु त्यसैले म आफ्नो प्रजातिलाई जीवित र मृत जे भए पनि प्रेम र प्रशंसा गर्छु,” उनले आफ्नो ईमेलको अन्त्यमा भनेका थिए, “मेरो आइप्याडबाट पठाइएको ।”

२०११ मा अस्ताएका स्टिभ जब्स

स्टिभ जब्स बुधबार, ५ अक्टोबर २०११ दिउँसो ३ बजे (पेसिफिक टाइम) मा सधैंका लागि अस्ताएका थिए । त्यतिबेला उनी आफ्नो पालो एल्टोको घरमा थिए ।

सान्टा क्लारा काउन्टी सार्वजनिक स्वास्थ्य विभागले तत्काल उनको मृत्युको कारण श्वासप्रश्वासको अवरोध भएको उल्लेख गरेको थियो । तर, उनको निधनको मुख्य कारण ‘मेटास्टाटिक प्यान्क्रियास न्युरोएन्डोक्राइन ट्युमर’ थियो । त्यसको भोलिपल्ट स्टिभ जब्सकी श्रीमतीले एक वक्तव्य जारी गरिन् । जसमा लेखिएको थियो:

“स्टिभ, आज शान्तिपूर्वक आफ्ना परिवारको साथमा अस्ताए ।

सार्वजनिक जीवनमा दूरदर्शी व्यक्तिका रूपमा चिनिने उनी निजी जीवनमा आफ्नो परिवारलाई माया गर्थे ।

स्टिभ बिरामी भएको अन्तिम वर्षमा शुभेच्छा र प्रार्थनाहरू साट्ने सबैप्रति हामी आभारी छौं । श्रद्धाञ्जली र सम्झनाहरू दिन चाहनेहरूका लागि एउटा वेबसाइट प्रदान गरिनेछ ।

हामी स्टिभप्रति हाम्रो भावना साट्नेहरूका समर्थन र दयाका लागि कृतज्ञ छौं । हामीलाई थाहा छ, तपाईंमध्ये धेरैले हामीसँग शोक मनाउनुहुनेछ । र हामी हाम्रो दुःखको समयमा हाम्रो गोपनीयतालाई सम्मान गर्न अनुरोध गर्छौं ।”

स्टिभ ४९ वर्षको हुँदा उनी गम्भीर प्रकृतिको प्यानक्रियाटिक क्यान्सरबाट ग्रसित थिए । त्यहीबेलादेखि ५६ वर्षको हुँदासम्म उनी उपचार गराइरहेका थिए । त्यसै कारणले उनले सन् २००५ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा भएको कार्यक्रममा भाषण दिंदा आफ्नो स्वास्थ्यको बारेमा सचेत थिए । उनले मृत्युको विषयमा कुरा गर्ने बताए ।

त्यस समयमा उनले एक ट्युमर हटाउने सफल शल्यक्रिया गरिसकेका थिए । तर, सन् २००९ मा उनले थप उपचार गर्न एप्पलबाट लामो बिदा लिए । त्यसपछि कलेजो प्रत्यारोपण गराए । र, सेप्टेम्बर २००९ को एप्पल कार्यक्रमको क्रममा आफ्नो दातालाई धन्यवाद दिए ।

“मसँग अहिले कार दुर्घटनामा निधन भएकामध्ये २० को युवको कलेजो छ,” उनले भनेका थिए, “उनीहरू अङ्ग दान गर्न तयार भए र म उनीहरूकै दयाले बाँच्न सफल भएँ ।”

उनकै सहकर्मी टिम कुक स्टिभ जब्सलाई कलेजो दान गर्न तुार थिए । तर स्टिभले उनको प्रस्ताव अस्वीकार गरेका थिए । सन् २०११ मा स्टिभ जब्स औषधि गर्नुपर्ने भएकाले उनको कामको जिम्मा टिम कुकले पाए ।

अन्तिम पटक ७ जुन २०११ मा स्टिभ सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए । त्यसबेला उनले आफ्नो एप्पल पार्क बनाउने योजनाका बारेमा कुरा गरेका थिए ।

त्यसको तीन महिनापछि २४ अगस्ट २०११ मा स्टिभ जब्स आधिकारिक रूपमा सीईओको स्थानबाट बाहिरिए । र, सीईओको जिम्मा टिम कुकले पाए ।

त्यो साँझ स्टिभले बायोग्राफर वाल्टर आइज्याक्सनलाई भनेका थिए, “मैले एकदम भाग्यमानी करिअर पाएँ । मेरो जीवनपनि उत्तिकै भाग्यमानी छ । मैले जे गर्न सक्थें, त्यो सबै गरें ।”

५ अक्टोबर २०११ का दिन उनी सधैंका लागि अस्ताए । स्टिभको मृत्युको समाचार फैलिदै गर्दा उनका साथीभाइ, सहकर्मी र पूर्व प्रतिस्पर्धीले उनीबारे कुरा गरे । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले भने, “स्टिभले पारेको जस्तो गहिरो प्रभाव पार्ने व्यक्ति संसारले बिरलै पाँउछ । उनका प्रभावहरू सयौं पुस्ताहरूमा महसुस गरिनेछ । हामीमध्ये कैयौं व्यक्ति भाग्यमानी ठहरियौं, जसले उनीसँग काम गर्ने अवसर पायौं । यो एक अत्यन्त ठूलो सम्मानको कुरा हो । म स्टिभलाई सदैव सम्झिरहनेछु ।”

२०११ को अक्टोबर १९ मा एप्पलले स्टिभको सम्झनामा एक श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो । यो प्रारम्भमा कर्मचारीहरूको लागि निजी कार्यक्रम थियो र केवल विश्वभरका एप्पल स्टोरहरूमा लाइभ-स्ट्रिम गरिएको थियो ।

लगभग एक हप्तापछि एप्पलले उक्त भिडिओ सार्वजनिक रूपमा जारी गर्‍यो । यो भिडिओ एप्पलको साइटमा अहिले उपलब्ध छैन । तर, एक मेमोरी पेज उपलब्ध छ । उक्त पेजमा तपाईं स्टिभ जब्सको बारेमा व्यक्तिले लेखेका सम्झनाका शब्दहरू पढ्न सक्नुहुन्छ । त्यसबाहेक तपाईं आफ्ना भनाइ पनि योगदान गर्न सक्नुहुन्छ ।

एप्पलले त्यो पेजलाई निरन्तर कायम राखिरहेको छ र प्रत्येक वर्ष टिम कुकले स्टिभलाई उनको स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण गर्ने गर्दछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours