१६ असाेज, काठमाडौं । आफ्नो पुस्तका महान अभिनेता ड्यानियल डे-लुइस ७ वर्षको अन्तरालपछि फिल्ममा फर्किँदैछन् । छोरा रोनान डे-लुइसको निर्देशनमा बन्न लागेको फिल्म ‘एनेमोन’मा उनी शीर्ष भूमिकामा देखिन लागेका हुन् ।
रोचक कुरा यो छ कि, सन् २०१७ मा अभिनयबाट सन्यास घोषणा गरेका लुइस, पूर्वप्रतिबद्धताबाट पछि हट्दै फिल्ममा फर्किन लागेका हुन् । सन्यास घोषणा गरिसकेका चर्चित अभिनेता फिल्ममा फर्किने पक्का भएपछि हलिउड र उनको प्रशंसक वृत्त खुसीले रोमाञ्चित भएको छ ।
फोकसन फिचर्स र प्लान बीको यो कथानक फिल्मबाट लुइसका छोरा रोनानले निर्देशनमा डेब्यु गर्दैछन् । यो फिल्मले बुबा, छोरा र भाइहरू बीचको जटिल सम्बन्धको साथै ‘पारिवारिक बन्धनको गतिशीलता’को अन्वेषणलाई वर्णन गर्छ ।
सन् २०१७ मा रिलिज भएको ‘फ्यान्टम थ्रेड’पछि ड्यानियलले सन्यासको घोषणा गरेका थिए । यो कमब्याक फिल्ममा उनको शीर्ष भूमिका हुनेछ । यो फिल्ममा सेन बीन, सामन्था मोर्टन, शमूएल बोटमले र सफिया ओकले–ग्रीनको पनि अभिनय हुनेछ ।
‘हामी रोनान डे-लुइसको पहिलो फिचर फिल्ममा ड्यानियल डे-लुइससँग उनको रचनात्मक सहयोगीको रूपमा एक शानदार भिजुअल आर्टिस्टसँग साझेदारी गर्न लागेकोमा उत्साहित नभैरहन सक्दैनौं’ निर्माता कम्पनी फोकस फीचरका अध्यक्ष पिटर कुजावस्कीले एक विज्ञप्तिमा भने ।
ड्यानिलको अघिल्लो फिल्म ‘फ्यान्टम थ्रेड’ निर्माण गरेको कम्पनी फोकस फीचरले नै यो फिल्म बनाउन लागेको हो । यो फिल्मलाई युनिभर्सल स्टुडियोले विश्वब्यापी रिलिज गर्नेछ ।
+ There are no comments
Add yours