१६ असाेज, काठमाडाैं । विश्वको सर्वोच्च शिखर सगरमाथा एउटा नदीका कारण १५ देखि ५० मिटरसम्म थप अग्लो भएको एक अध्ययनले देखाएको छ ।
उक्त नदीले सगरमाथाको तहबाट चट्टान तथा माटोलाई काटिरहेको छ । सोही कारण सगरमाथाको उचाइ बढिरहेको छ ।
युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुका अनुसार विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाभन्दा ७५ किलोमिटर टाढा रहेको अरुण नदीको भूस्तरमा आएको परिवर्तनले सगरमाथाको उचाइँ प्रतिवर्ष २ मिलिमिटर सम्म बढाइरहेको छ ।
तर यो कसरी सम्भव छ ?
अध्ययनका सह लेखक एडम स्मिथले भनेका छन् : यो ठ्याक्कै त्यस्तै हो जब तपाईंले सामुद्रिक जहाजबाट सामान तल फ्याँक्न सुरु गर्नुहुन्छ अनि जहाज हलुका हुन्छ र पानीमा केही माथि उत्रिन्छ ।
हिमालयको निर्माण चारदेखि पाँच करोड वर्षअघि भारतीय र युरेशियाई टेक्टोनिक प्लेटहरुको ठक्करबाट भएको थियो । टेक्टोनिक प्लेटको टकराव नै हिमालय निरन्तर बढिरहनुको मुख्य कारक रहेको छ ।
तर, युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले चाहिं सगरमाथाको उचाइ बढ्नुमा अरुण नदीको आफ्नै योगदान रहेको पत्ता लगाएका छन् ।
अरुण नदीले जब जब हिमालयको यात्रा गर्दछ यसले आफूसँग निकै धेरै चट्टान, माटो लगायतका चिजहरु लिएर बग्दछ । ती वस्तुहरु पृथ्वीको माथिल्लो सतह अर्थात् क्रस्टमा जम्मा भएका वस्तुहरु हुन् ।
यसरी बाह्यमण्डलमा भएका चिजहरु नदीले बगाउँदा मध्यमण्डल अर्थात् मेन्टलमा दबाब कम हुन्छ । अनि दबाब कम हुँदा पातलो पत्र उछिट्टिएर माथितर्फ उठ्न जान्छ र नदीसँगै बग्न थाल्छ। यसलाई आइसोस्टाटिक रिबाउन्ड भनिन्छ जो एक प्रकारको सन्तुलन प्रतिक्रिया हो ।
नेचर जियोसाइन्स जर्नलमा प्रकाशित अध्ययन अनुसार यो प्रक्रियाको कारणले गर्दा केवल सगरमाथा मात्रै नभएर आसपासका अन्य हिमालहरु पनि अग्लिइरहेका छन् । जसमा विश्वको चौथो तथा पाँचौ अग्ला हिमालहरु ल्होत्से तथा मकालु पनि सामेल छन् ।
ताजा अध्ययनका सह लेखक डाक्टर म्याथ्यू फक्सले बीबीसीसँग भनेका छन् : सगरमाथा तथा त्यसको आसपासमा रहेका चुचुराहरु झनै अग्लो भैरहेका छन् किनकि आइसोस्टाटिक रिबाउन्डले ती चुचुराहरुको बेसिनमा कटानका कारण तीव्र रुपमा माथि उठाइरहेका छन् ।
उनका अनुसार जीपीएस उपकरणहरुको मद्दतले हेर्दा हरेक वर्ष सगरमाथा दुई मिलिमिटरसम्म अग्लो भैरहेको देखियो । पहिले यसको कारण थाहा थिएन तर अब चाहिं यसो किन भैरहेको छ भन्ने कुरा हामीले थाहा पायौं ।
नदी कटानको असर
उक्त शोधमा जो भूवैज्ञानिकहरु सामेल भएका छैनन् उनीहरुले भनेका छन् कि सैद्धान्तिक रुपमा यो एउटा रोचक कुरा हो तथापि अध्ययनमा धेरै यस्तो छ जसका बारेमा निश्चित रुपमा केही भन्न सकिंदैन ।
सगरमाथा नेपाल र चीनको सीमानामा अवस्थित छ यसको उत्तरी भाग चीनतर्फ रहेको छ । अरुण नदी तिब्बतमा उत्पत्ति भएर नेपालतर्फ बग्दछ । त्यसपछि अन्य शाखा नदीहरुसँग मिलेर सप्तकोशी बन्दछ जुन उत्तरी भारतमा प्रवेश गर्छ र अन्तिममा गंगामा मिल्दछ ।
पहाडबाट गुज्रिने यो नदीको बहाव निकै तिव्र हुन्छ । आफ्नो तीव्र प्रवाहका कारण यो नदीले निकै धेरै चट्टान, ढुंगामाटो तथा हिलोको कटान गर्दै बग्दछ ।
बदलिंदो उचाइका कारण
शोधकर्ताका अनुसार अरुण नदीले आफ्नो विद्यमान शक्ति त्यसबेला प्राप्त गर्यो जब उसले ८९ हजार वर्षअघि तिब्बतमा कुनै दोश्रो नदी वा जलाशयलाई आफुमा समाहित गर्यो ।
भूवैज्ञानिक समयका हिसाबले यो खासै पूरानो घटना होइन ।
चाइना युनिभर्सिटी अफ जियोसाइन्सका एक चिनियाँ शिक्षाविद् डाक्टर झूहानले युनिभर्सिटी कलेज अफ लण्डनमा छात्रवृत्तिका क्रममा शोध गरेका हुन् र उनी यो शोधका प्रमुख लेखक हुन् ।
हान भन्छन् : सगरमाथाको बदलिँदो उचाइले वास्तवमा पृथ्वीको सतहको गतिशील प्रकृतिलाई उजागर गर्दछ । अरुण नदीको कटान तथा पृथ्वीको आवरणको माथिल्लो दबाबको बीचको परस्पर क्रियाले सगरमाथाको उचाइलाई बढाइरहेको छ ।
शोधमाथिका सबालहरु
उक्त अध्ययनमा भनिएको छ कि अरुण नदीले जब विगतमा तिब्बतमा अन्य जलाशय वा नदीमाथि कब्जा गर्यो सम्भवतः त्यसपछि यसले असाधारण मात्रामा चट्टान तथा अन्य सामग्रीहरु कटान गर्ने क्षमता हासिल गर्यो ।
यो अध्ययनमा सहभागी नभएका एडिनबरा विश्वविद्यालयका भूगर्भविज्ञानका प्राध्यापक ह्यु सिंक्लेयरका अनुसार सगरमाथाको उचाइ बढ्नुमा जिम्मेवार भनेर शोधकर्ताहरुले जुन कारणलाई देखाएका छन् त्यो उचित छ । तर उनले केही प्रश्न पनि उठाएका छन् ।
उनी भन्छन् : नदीको कारण हुने कटानको सटिक मात्रा तथा समय वा नदीले आफ्नो पिँधमा तलतर्फ गर्ने कटान अनि आफ्नो च्यानललाई अझै गहिरो गराउने प्रक्रियाकै कारण आसपासका चुचुराहरु अग्लो हुने कुरा मलाई अनिश्चितताले भरिएको जस्तो लाग्छ ।
उनका अनुसार जल निकासीमा कब्जाको कारणले गर्दा यतिठूलो जलग्रहण क्षेत्रमा नदीबाट कटानको भविष्यवाणी गर्न मुस्किल हुन्छ । साथै तीव्र स्थानीय कटानका कारण पहाड अग्लो बनिरहेको भन्ने कुराको अनुमान लगाउन निकै कठीन हुन्छ ।
तथापि सगरमाथाको असाधारण उचाइमा एउटा नदीको भूमिकाले एक रोचक पहलुको प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।
+ There are no comments
Add yours