देवता रिसाउने डरले जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य

रमेश रावत

१५ असोज, अछाम ।
 अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चण्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन् । गएको जेठ २७ गते पुलको एकतर्फका लठ्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो । एकतर्फ कोल्टे परेको झोलुङ्गे पुलबाटै उनीहरु यात्रा गर्ने गर्छन् । 

भत्किएर जीर्ण भएको पुलमा स्थानीय प्रशासनले यात्रा गर्न रोक लगाएको छ । तर पनि दैलेखबाट अछामको विद्यालयमा पढ्ने छात्राहरु महिनावारीको समयमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जाने गरेका छन् । सुरुमा यात्रामा प्रतिबन्ध लगाइएको पुलमा अहिले महिनावारीको समयमा महिलाहरु आवतजावत गरिरहेका छन् । उनीहरुलाई स्थानीय प्रहरीले नदेखे झैं गर्ने गरेको छ । 

जीर्ण पुलको करिब ५ सय मिटर नजिक अर्को पुल निर्माण भएको छ । नवनिर्मित पुल नजिकै मन्दिर रहेकोले महिनावारी भएका किशोरीहरु उक्त पुलबाट हिँड्दा देवता रिसाउने भन्दै नजाने गरेका छन् । कक्षा ७ मा अध्ययनरत दैलेखको आठबिस नगरपालिका ५ कि तुल्सी चौलागाईले आफूहरु महिनावारीको ९ दिनसम्म जीर्ण पुलबाटै विद्यालय जाने गरेको बताउनुभयो । महिनावारी नहुँदा नवनिर्मित पुलबाट विद्यालय जाने गरेको बताउने चौलागाईंले महिनावारीको समयमा विद्यालयमा नजाँदा आफ्नो पढाइ छुट्ने भएकोले जीर्ण पुलबाटै जानेगरेको बताउनुभयो । 

विद्यालयकी अर्की छात्रा गिता सुनारले विद्यालयमा हाजिर नहुँदा प्रतिदिन २० रुपियाँ जरिवाना तिर्नपर्ने नियम रहेको बताउनुभयो । विद्यालय नजाँदा पढाइ छुट्ने र विद्यालयले जरिवाना समेत तिराउने भएकोले जिर्ण पुलबाटै जाने गरेको बताउनुभयो । उहाँले जिर्ण पुलको मर्मतका लागि सरकारसँग आफ्ना कुरा पु¥याइदिन अनुरोध गर्नुभयो । नयाँ बनेको पुलबाट महिनावारीको समयमा यात्रा गर्न नहुने स्थानीयको विश्वास छ । 

नवनिर्मित पुलको दैलेखपट्टि नैनेल देवताको मन्दिर छ । परापूर्वकालदेखि स्थानीयले नैनेल देवताको पूजा गर्ने गरेका छन । महिनावारी तथा गर्भवती समयमा मन्दिरको नजिक जान नहुने यहाँको धार्मिक विश्वास छ । 

चण्डिका माध्यमिक विद्यालय अछामका लेखापाल गणेश कार्कीका अनुसार पहिलेको तुलनमा विद्यालयमा छात्राको उपस्थिति कम देखिएको छ । केही छात्राहरु जोखिम मोलेर विद्यालय आउने गरेको भए पनि अधिकांश छात्राहरु महिनावारीको ९ दिनसम्म विद्यालयमा अनुपस्थित हुन्छन् ।

विद्यालयका छात्रा मात्र हैन अछामको पञ्चदेवल विनायक नगरपालिकाका अधिकांश गर्भवती महिला र महिनावारी हुने महिलाहरु दैलेखको खिड्किज्यूला बजारमा सामान किन्न जाँदा लठ्ठा चुँडिएर जीर्ण बनेको पुलबाटै यात्रा गर्ने गरेका छन् । जसका कारण स्थानीयलाई जोखिम बढेको छ । 

पञ्चदेवल विनायक नगरपालिका ९ का वडा अध्यक्ष रामप्रसाद जैसीका अनुसार पुलको पुनर्निर्माण नभएसम्म स्थानीयलाई दुःख नै हुनेछ । स्थानीयहको धार्मिक आस्थासँग जोडिएको कुरा भएकाले जनप्रतिनिधिले पनि उनीहरुलाई कर गर्न नमिल्ने उहाँको भनाइ छ । स्थानीय महिलाहरु र स्कुल उमेरका किशोरीहरुले पुलको पुनर्निर्माणको माग गरेका छन् । 

You May Also Like

More From Author

+ There are no comments

Add yours