बाढी-पहिरोबाट काभ्रेमा ६२ जनाको मृत्यु, चार जना बेपत्ता

१५ असाेज, काभ्रेपलाञ्चोक । बाढी-पहिरोमा परी काभ्रेपलाञ्चोकमा ६२ जनाको मृत्यु भएको छ। घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन्। मृत्यु हुनेमा एक जना विदेशी नागरिक पनि छन्।

घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन्। घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन्। मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ। यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ।

यसैगरी, मण्डनदेउपुरमा चार महिलासहित आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको कार्यालयले जनाएको छ। बेथानचोक गाउँपालिकामा मृतक सातमध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँचमध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक–एक, बनेपा नगरमा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ।

भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो। पाँचखाल नगरपालिका तथाा खानीखोला र महाभारत गाउँपालिकामा भने मानवीय क्षति भएको छैन। बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours