बाढी-पहिरो प्रभावितको राहतका लागि सचिवहरुले ५ दिनको तलब दिने

१४ असोज, काठमाडौं । बाढी-पहिरोबाट प्रभावित घर परिवारलाई राहत दिन नेपाल सरकारका सचिवहरुले ५ दिन बराबरको तलब दिने भएका छन् ।

सोमबार बसेको सचिव बैठकले निजामती सेवाका विशिष्ट श्रेणीका पदाधिकारीको ५ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले बाटोमा अलपत्र परेका यात्रुहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा गन्तव्यमा पुर्‍याउने, विपद् पीडितलाई प्रदेश र स्थानीय तह मार्फत अस्थायी आवास निर्माण र खाद्यान्नका लागि राहत दिने निर्णय गरेको छ ।

त्यस्तै बाढी पहिरोका कारण अवरुद्ध राजमार्ग यथाशीर्घ खुलाई आवागमन सहज बनाउन भौतिक पूर्वाधार मन्त्रालयले काम गर्ने र नेपाली सेनाको प्राविधिक सहयोगमा आवश्यक ठाउँमा बेलिब्रिज राख्ने निर्णय पनि सचिव बैठकले गरेको छ ।

त्यस्तै काठमाडौंबाट पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग सञ्चालनमा नआउँदासम्म वैकल्पिक रुट पहिचान गरी सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours