विपतमा एअरलाइन्सहरुद्वारा हवाई भाडामा मनपरी

१३ असाेज, काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएको मौका छोपी हवाई सेवा प्रदायकहरुले यात्रुहरुसँग मनपरी भाडा लिन थालेका छन्।

बिहीबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले देशभर यातायात सेवा प्रभावित भएको छ। पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका जोड्ने सबै नाका बन्द भएका छन्।

यातायात सेवा प्रभावित हुँदा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेहरुले हवाई सेवा प्रयोग गर्नुपर्ने बाध्यता छ। यात्रुहरुको बाध्यताको फाइदा उठाउँदै एअरलाइन्सहरुले पहिलेकोभन्दा दोब्बर भाडा असुल्न थालेका हुन्।

यती एअरलाइन्सले काठमाडौँदेखि विराटनगरसम्मको भाडा ९ हजार ९०० रुपैयाँ तोकेको छ। जबकि पुरानो भाडा ५ हजार ७०० रुपैयाँ थियो। यती एअरलाइन्स मात्र हैन, बुद्ध एअरलाइन्सले पनि ९ हजार ९०३ रुपैयाँ तोकेको छ। त्यस्तै श्री एअरलाइन्सले पनि ९ हजार ९०० रुपैयाँ तोकेको छ।

काठमाडौंदेखि विराटनगरको हवाई दूरी २३३ किलोमिटर छ। १०० किलोमिटरभन्दा केही बढी हवाई दूरी रहेको सुर्खेतको भाडा बुद्ध एअरलाइन्सले पहिलेको भन्दा बढाएर १४ हजार २७ रुपैयाँ तोकेको छ।

जबकि पुरानो भाडा करिब ७ हजार थियो। तर सुर्खेतदेखि काठमाडौंको भाडा भनेर ५ हजार ५०० रहेको छ। यसो हुनुको प्रमुख कारण भने सुर्खेतबाट काठमाडौंआउने यात्रु कम हुनु हो।

काठमाडौंदेखि सुर्खेतको हवाई दूरी ४२० किलोमिटर छ। एअरलाइन्सहरुले शुक्रबार र शनिबार टिकट खरिद गरेको तर अविरल वर्षाका कारण जान रोकिएका यात्रुको टिकट रद्द गरेर दोब्बर भाडा तिर्नुपर्ने बाध्यता बनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत यात्रुहरुसँग बढी भाडा नलिन एअरलाइन्सहरुलाई आग्रह गरेका छन्। हवाई भाडा अरुबेलाको भन्दा महँगो भएको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले विपतको समयमा यात्रुहरुसँग सकेसम्म पहिलेको भन्दा सहुलियत मूल्यमा नभए पनि पहिलेको दरमा भाडा लिन वायु सेवा प्रदायकहरुलाई आग्रह गरेका छन्।

हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एअरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours