ठूलो पानी परिरहेकाले टाढाको यात्रा नगर्न सरकारको आग्रह

११ असाेज, काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो (बिहीबार) साँझदेखि अधिकांश स्थानहरूमा ठूलो पानी परिरहेकाले सचेत रहन आग्रह गरेको छ।

प्राधिकरणले आज दैनिक विपद् बुलेटिन सार्वजनिक गर्दै यो क्रम असोज १३ गते आइतबारसम्म नै रहने संभावना रहेकाले अत्यावश्यकबाहेक घरदेखि टाढाको यात्रा नगर्न आग्रह गरेको छ।

प्राधिकरणका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्ला र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरू बढी प्रभावित हुन सक्ने देखिएको छ।

त्यसैले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। निरन्तर परेको वर्षाका कारण विभिन्न राजमार्गहरूमा पहिरो जाँदा सडक अवरूद्ध भएको छ।

काठमाडौं महानगरपालिकाले पनि नियमित झरी र समय समयमा भारी वर्षा भइरहेकाले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको जानकारी दिएको छ। महानगरपालिकाले सूचना नै जारी गरेर भनेको छ,‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ, पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ, सवारी प्रवेश नगराऔँ,कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ,आवश्यक सतर्कता अपनाऔँ,विपद सामना गर्न पूर्व तयारी गरौं।’

You May Also Like

More From Author

+ There are no comments

Add yours