उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस, १४ जना न्यायाधीशको सरुवा, को कहाँ?

११ असाेज, काठमाडौं । उच्च अदालतका दुई जना मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मख्य न्यायाधीश नित्यानन्द पान्डेलाई सिफारिस गरेको हो ।

सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीश दरबन्दी रिक्त छ । अर्को साता प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पनि अवकाश पाउँदैछन् ।

निरौला २०७७ माघ १२ गते मुख्य न्यायाधीश नियुक्त भएका थिए । पाण्डे गत मंसिर ६ गते मुख्य न्यायाधीश नियुक्त भएका हुन् । मुख्य न्यायाधीशको वरीयतामा छैटौँ नम्बरमा रहेका पाण्डे सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका हुन् ।

कन्चनपुरका पान्डे २०७० सालमा न्याय सेवामा प्रवेश गरेका हुन् । खोटाङका निरौला भने २०५२ मंसिर २४ गते न्याय सेवामा प्रवेश गरेका थिए ।

२०२८ माघ २५ गते जन्मिएका निरौला सर्वोच्चको न्यायाधीश नियुक्त भए २०९३ माघसम्म जिम्मेवारीमा रहनेछन् । यस्तै २०२२ फागुन १४ गते जन्मिएका पान्डे नियुक्त भएको अवस्थामा २०८७ फागुनसम्म सर्वोच्चको न्यायाधीश रहनेछन् ।

यस्तै न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ।

सरुवा सूचीअनुसार उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारी र धीरबहादुर चन्दलाई काजमा उच्च अदालत विराटनगर अन्तर्गत ओखलढुंगा इजलासमा रहेकोमा ओखलढुंगामै सरुवा गरिएको छ।

ओखलढुंगा इजलासमा रहेका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलासमा, बुटवल इजलासका न्यायाधीश सुभाष गौतमलाई नेपालगन्ज इजलासमा, नेपालगन्जमा रहेका न्यायाधीश श्यामजी प्रधानलाई जुम्ला इजलासमा, बुटवल इजलासका सोमकान्त मैनाली उच्च अदालत तुलसीपुर र नेपालगन्ज इजलासमा रहेकी न्यायाधीश किरणकुमारी गुप्तालाई बुटवल इजलासमा सरुवा गरिएको छ।

यस्तै राजविराज इजलासका राधाकृष्ण उप्रेतीलाई उच्च अदालत पाटनमा, महेन्द्र नगर इजलासबाट कविप्रसाद न्यौपानेलाई उच्च अदालत पाटन, धनकुटा इजलासका न्यायाधीश सुशिल कोइरालालाई राजविराज इजलासमा, उच्च अदालत तुलसीपुरबाट अच्युतमकुमार आचार्यलाई राजविराज इजलास, बुटवल इजलासका विष्णुप्रसाद अर्याललाई उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरका नरबहादुर खड्कालाई उच्च अदालत तुलसीपुर र ओखलढुंगा इजलासकी न्यायाधीश सरला मोक्तानलाई राजविराज इजलासमा सरुवा गरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours