०९ असाेज, काठमाडौं । काठमाडौं महानगरपालिकाको १६ नं. वडाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामाको उपाधि जितेको छ ।
वडानम्बर २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भएको फाइनलमा वडा नं. १६ ले वडा नं १२ लाई ५-२ ले हराउँदै उपाधि जितेको हो ।
पहिलो हाफ गोलरहित टुङिगएको थियो । तर, मध्यान्तरपछि खेल सुरु भएको पहिलो मिनेटमै वडा नं १२ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा नं १६ ले अग्रता बनायो ।
त्यसपछि आयुष कुँवर, रविन निरौला र सुजत डङ्गोलले गोल गरी विजयी टिमलाई ४–० को आरामदायक अग्रता दिलाए ।
मनोज महर्जन र सिद्धार्थ देउलाको गोलबाट वडा १२ ले खेलमा फर्किने प्रयास गरेको थियो । तर, खेल सकिनै लाग्दा श्रेयान्स मानन्धरले गोल गरेपछि वडा १६ फराकिलो गोल अन्तरसहित च्याम्पियन बन्यो । श्रेयान्स फाइनलको म्यान अफ दि म्याच पनि बने ।
उपाधि विजेता वडा १६ ले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्यो । उपविजेता वडा १२ ले ट्रफी र एक लाख रुपियाँमा चित्त बुझायो ।
वडा नं १६ का आयुष कुँवर प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित भए । उपाधि विजेता टिमकै मनोज महर्जन सर्वाधिक गोलकर्ता बने ।
उत्कृष्ट गोलरक्षकको पुरस्कार वडा नं १२ का मनोज महर्जनलाई प्रदान गरियो । व्यक्तिगत विधातर्फ उत्कृष्ट तीनै जना खेलाडीले जनही १० हजार रुपियाँ प्राप्त गरे ।
समापन समारोहमा पकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मध्यान्तरसम्म फाइनल खेलको अवलोकन गरेका थिए ।
काठमाडौं महानगरपालिकाका प्रशासकिय प्रमुख सरोज गुरागाईं तथा आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनलगायतले विजेता तथा उपविजेता र व्यक्तिगत विधामा सर्वश्रेष्ठ खेलाडीहरुलाई ट्रफी, पदक तथा पुरस्कार रकमको चेक प्रदान गरे ।
अध्यक्ष महर्जनले वडा नं २३ ले अर्को वर्ष तेस्रो संस्करण अझ भव्यताका साथ आयोजना गर्ने बताए ।
गत असोज १ गते सुरु भएको नकआउट प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाले सहभागिता जनाएका थिए ।
+ There are no comments
Add yours