सहरी विकास सचिव गेलालले गरे कार्यसम्पादन सम्झौता

०८ असोज, काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलाललाई मंगलबार कार्यसम्पादन करार सम्झौता गराएका छन् ।

२७ भदौमा उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए ।

सोही सम्झौता आधार मानेर मन्त्रालय भित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउन मन्त्री र सचिवबीच सम्झौता भएको हो ।

‘कार्यसम्पादनमा बाधा अडचन नआउने गरी, आयोजनाहरू समयमा सम्पन्न हुने गरी कार्यसम्पादन सम्झौता अक्षरशः पालना हुने विश्वास लिएको छु,’ सिंहले भने ।

उनले मन्त्रालयको कामलाई जनताले अनुभूत गर्ने गरी अगाडि बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनावद्ध सहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधार क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरण सहित योजनाबद्ध सहरीकरणद्वारा देश विकास गर्ने गरी कार्यसम्पादन सम्झौता गरेको बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours