हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठमा रिलिज हुने

०८ असाेज, काठमाडौं । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै हरर कमेडी ‘फिरफिरे फिरिरी’ले आफ्नो रिलिज मिति घोषणा गरेको छ। घोषणा अनुसार सिनेमा कात्तिक २२ गते छठमा रिलिज हुनेछ। नवीन भट्ट सिनेमाका निर्देशक हुन्।

मनोजकुमार अधिकारीको निर्माण रहेको सिनेमामा अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाईं, पिटर प्रिन्स, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

अधिकारीले यसअघि ‘नौ डाँडापारि’ तथा ‘मंगलसुत्र’ निर्माण गरेका थिए। यसै सिनेमाबाट उनी १५ वर्षपछि फेरि सिनेमा निर्माण तथा अभिनयमा फर्किएका हुन्।

सन्दीप श्रेष्ठ र नवीन भट्टको संयुक्त लेखन रहेको ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने दाबी निर्माण पक्षले गरेको छ।

सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

सिनेमाको सार्वजनिक फस्टलुक पोस्टरमा स्कुटीमा बसिरहेकी युवतीलाई तीन जना युवाहरुले तानातान गर्दै गरेको देख्न सकिन्छ।

सिनेमामा जितु तामाङको छायाँकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ।

सिनेमालाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। सिनेमाको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours