आजदेखि मौसममा बदली हुँदै, दैनिक जनजीवनसँगै कृषि क्षेत्र प्रभावित हुन सक्ने

०८ असाेज, काठमाडौँ आज (मंगलबार दिउँसो) देखि देशभर आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

बुधवारदेखि देशभर आंशिक देखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

बुधवारदेखि शनिवारसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी कृषि क्षेत्र प्रभावित हुन सक्ने भएकाले मौसम पूर्वानुमान हेरेर मात्र कृषि कर्म गर्न विभागले अनुरोध गरेको छ ।

वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सचेत बनाइएको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours