एआई र रोबोटिक्समा आधरित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक 

०६ असाेज, काठमाडौं । एआई र रोबोटिक्समा आधरित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ।

बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

प्राध्यापक अभी सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यासको लाोकार्पण गरे। लोकार्पण कार्यक्रममा बोल्डै डा. समीरले अब मानिसहरू ‘सावर्णि’ युगमा प्रवेश गर्न लागेको बताए।
‘अब हामी सावर्नी युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ। छोराछोरी, बाबुआमा, हजुरबा हजुरआमा मोबाइलबिना खाना खानै नसक्ने अवस्था छ,’ पुस्तकबारे डा. समीरले भने, ‘हामीलाई एआईले नियन्त्रण गरिरहेको छ। कुनै लेख लेख्नुपर्यो च्याट जिपिटी छ। हाम्रो सृजनालाई एआईले नियन्त्रण गरिरहेको छ।’

यही विषयलाई डा. खनालले मीठो भाषा शैलीमा लेखेको डा. समिरले बताए। उनले यो उपन्यास चिकित्सकले लेखेजस्तो नलाग्ने समेत बताए। उनले भने, ‘यो पुस्तक राम्रो लेखकले नै लेखेजस्तो छ।’

डा. समीरले थप भने, ‘एआईले हामीलाई शाषण गर्न सुरू गरिसकेको छ। यस आक्रमणबाट बालबालिकालाई बचाउने तरीकाको लागि यो किताब उपयुक्त छ।’

लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन्। ‘सावर्णि’मा डा. खनालको अध्ययनको फैलावट समेत देखिएको बताइन्।

उनले भनिन्, ‘यो किताब हामी हामी लोप भइसकेपछिको कथा हो। यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ।’ शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन्।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, ‘यो उपन्यासले आशाको संकेत गर्छ। सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ।’

लेखक डा. खनालले पनि सबैलाई धन्यवाद दिए। पेशाले बालरोग विशेषज्ञ रहेका खनाल अस्तित्व फाउन्डेसनका संस्थापक समेत हुन्। यस फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ। ‘सावर्णि’बाट प्राप्त रोयल्टीबाट केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउने बताएका छन्।
यस पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours