इरानको कोइला खानीमा विस्फोट हुदा ३० जनाको मृत्यु : २० जनाभन्दा बढीको अवस्था अज्ञात

०६ असाेज, एजेन्सी । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।

“तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ। यसअघि १९ जनाको मृत्यु भएको जनाइएको थियो।

खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ।

स्थानीय समयअनुसार शनिबार राति ९:०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएका छन् भने २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इर्नाले जनाएको छ।

मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ।

सरकारी टेलिभिजनले घाइतेलाई अस्पताल पुर्याउन एम्बुलेन्स र हेलिकप्टर घटनास्थलमा पुगेको फुटेज प्रसारण गरेको छ।

इर्नाले सार्वजनिक गरेको अनलाइन फुटेजमा केही पीडितको शव खानीको ठेलामा राखेर घटनास्थलबाट बाहिर निकालिएको देखिएको छ।

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रस्थान गर्नुअघि राष्ट्रपति मसूद पेजेस्कियानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्।

“दुर्भाग्यबस, तबासको एउटा कोइला खानीमा एउटा दुर्घटना भएको छ र हाम्रा धेरै प्रियजनहरूले ज्यान गुमाएका छन्। म उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्दछु,” पेजेस्कियानले भने।

इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले ‘आपतकालीन फलोअप’ सुनिश्चित गर्न र पीडित र उनीहरूका परिवारका लागि सहयोग सुनिश्चित गर्न मन्त्रीपरिषद्का सदस्यहरूसँग कुराकानी गरेको इर्नाले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours