अमेरिकाले चिनियाँ सफ्टवेयर र हार्डवेयर प्रयोग भएका सवारी साधनहरूमा प्रतिबन्ध लगाउने

०६ असाेज, काठमाडाैं । अमेरिकामा सञ्चालित ‘कनेक्टेड’ र ‘स्वचालित’ सवारी साधनहरूमा प्रयोग भएका चिनियाँ सफ्टवेयर र हार्डवेयरमा प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी वाणिज्य विभागले गरेको छ । प्रस्तावित नियमअनुसार, चिनियाँ सवारी साधनमा प्रयोग गरिएका मुख्य संचार प्रणाली, स्वचालित ड्राइभिङ सफ्टवेयर वा हार्डवेयरको आयात र बिक्रीमा प्रतिबन्ध लगाइनेछ।

सवारी साधनमा जडान गरेको सफ्टवेयरको प्रयोग गरी चिनियाँ कम्पनीहरूले अमेरिकी चालक र पूर्वाधारको डेटा संकलन गर्ने गरेको र यसले विदेशी हस्तक्षेपको सम्भावना बढाएको बाइडेन प्रशासनले जनाएको छ । यससँगै अमेरिकाले चिनियाँ सवारी साधन, सफ्टवेयर र कम्पोनेन्टहरूमा लगाउँदै आएको प्रतिबन्धलाई कडा रुपमा लागू गर्नेछ ।

गत हप्ता मात्रै बाइडेन प्रशासनले चीनबाट आयातित वस्तुहरूमा लाग्दै आएको भन्सार कर बढाएको थियो । जसअन्तर्गत विद्युतीय सवारी साधनहरूमा लाग्ने कर १००% तथा नयाँ विद्युतीय ब्याट्रीमा थप कर समावेश छ। वाणिज्य सचिव जिना रायमन्डोले मे महिनामा चिनियाँ सफ्टवेयर वा हार्डवेयरको प्रयोगले राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गर्ने बताएकी थिइन्।

राष्ट्रपति जो बाइडेनले फेब्रुअरीमा चिनियाँ सवारी साधनको आयातले ‘कनेक्टेड’ प्रविधिको कारण राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउने आशंका व्यक्त गर्दै जाँच गर्न आदेश दिएका थिए । उनले चिनियाँ सफ्टवेयर र हार्डवेयरलाई अमेरिकी सवारी साधनमा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए ।

चीनले विद्युतीय सवारीसाधनको बिक्री गरी अमेरिकी बजार ‌ओगट्ने प्रयास गरेको र त्यसले राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउने आरोप लगाउँदै बाइडेनले आफ्नो कार्यकालमा त्यसो हुन नदिने बताएका थिए ।

वाणिज्य विभागले प्रस्तावलाई पास गर्नु अघि ३० दिनको सार्वजनिक टिप्पणीको समय दिनेछ। विभागले प्रस्ताव गरेको नियमअनुसार, २०२७ पछि निर्माण हुने सवारी साधनहरुमा सफ्टवेयर प्रतिबन्ध लागु हुनेछ । यस्तै सन् २०२९ को जनवरीदेखि वा २०३० मोडलका सवारी साधनहरूमा चिनिया हार्डवेयर प्रतिबन्धको नियम लागु हुनेछ । प्रस्तावित प्रतिबन्धहरूमा ब्लुटुथ, स्याटलाइट र वायरलेस विशेषताहरू भएका सवारी साधनहरू साथै चालकविहीन स्वचालित सवारी साधनहरू समावेश हुनेछ ।

चीनमा मात्रै नभई अमेरिकी विभागले अघि सारेको प्रतिबन्ध रुसमा पनि लागू हुनेछन् । अहिलेका अधिकांश सवारी साधनहरू ‘कनेक्टेड’ भएको बताउँदै अमेरिकी अटोमेकर कम्पनीहरुले सवारीसाधनहरुमा हार्डवेयर र सफ्टवेयर परिवर्तन गर्न समय लाग्ने बताएका छन् । पछिल्लो समयमा अमेरिकामा चिनियाँ निर्मित सवारी साधनको आयात कम हुँदै गएको छ ।

वाणिज्य विभागले अघि सारेको प्रस्तावलाई बिहीबार नै ह्वाइट हाउसले अन्तिम स्वीकृति दिएको छ । विभागले अघि सारेको उक्त नियम अमेरिकी ‘कनेक्टेड’ सवारी साधनहरूको आपूर्ति श्रृंखलाको सुरक्षालाई सुनिश्चित गर्नका लागि ल्याएको र यो नियम कृषि वा खनिजका सामाग्रीहरुमा लागू हुने छैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours