पलेशालाई एनसेल फाउन्डेसनले दियो १० लाख नगद

०४ असाेज, काठमाडौं । एनसेल फाउन्डेसनले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

पेरिस पारालिम्पिक्स-२०२४ मा कांस्य पदक दिलाउन सफल पलेशालाई १० लाख नगद पुरस्कारसहित सम्मान गरिएको फाउन्डेसनले जनाएको छ ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा पलेशासहित अन्य खेलाडीलाई नगदसहित सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।

कम्पनीले पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँले पुरस्कृत गरेको छ ।

यसैगरी कम्पनीले तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई समान १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।

खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणी उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै पारा खेलाडीहरूलाई उच्च मनोबल र हौसला प्रदान गरकोमा एनसेललाई पनि सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्री चौधरी लगायतले एनसेललाई सो सम्मान गरेका हुन् ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले एनपीसीसँगको सहकार्यमा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै एक बलियो साथ दिने प्रतिबद्ध व्यक्त गरिन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours